काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र पाकिस्तान टी–२० टिमका कप्तान साहिबजादा फरहान नेपाल आइपुगेका छन् ।
शनिबार उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उनलाई कर्णाली याक्स स्पोट्र्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए ।

क्लबले शुक्रबार ३० वर्षीय शीर्षक्रमका दायाँ हाते ब्याटर फरहानलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।
उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो पाकिस्तानी राष्ट्रिय टिमका खेलाडी हुन् ।
बिहीबार कर्णालीले पाकिस्तानका चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको थियो । तलात पनि नेपाल आइसकेका छन् ।
फरहानले सन् २०१८ मा अस्ट्रेलियासँग खेल्दै टी–२० आईमा डेब्यु गरेका थिए । उनले पाकिस्तानबाट टी–२० मा ५१ खेल खेल्दा एक हजार ५५४ रन बनाएका छन् । जसमा २ शतक र १३ अर्धशतक सामेल छ । उनले रावलपिण्डीमा भएको पछिल्लो तीन टी–२० आईमै अर्धशतक बनाएका छन् ।
कर्णाली याक्सले ६ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । यसअघि कर्णालीले पाकिस्तानकै अलराउन्डर हुसैन तलातसँगै बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीलाई भित्राइसकेको छ ।
शुक्रबार मात्रै टिमले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलरलाई अनुबन्ध गरेको थियो ।
त्यस्तै, दोस्रो सिजनमा सानदार प्रदर्शन गरेको स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि टिममा अनुबन्ध भइसकेका छन् । वाटबाहेक मिलर, फरहान, तलात, अरिफुल र अकबर चारै जना पहिलोपटक एनपीएल खेल्दैछन् ।
कात्तिक ९ बाट सुरु हुने एनपीएलको लागि कर्णालीले घरेलु खेलाडीमा मार्कीमा सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।















प्रतिक्रिया