७ कार्तिक २०८३, शनिबार

ऋचा काफ्लेको नयाँ गीत ‘म बाँचेको सार के हो ? खोजी गर्दैछु’ सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना छन्, तैपनि मानिस हरेक बिहान नयाँ आशासहित उठ्छ र यही भोगाइ बोकेको ‘म बाँचेको सार के हो ? खोजी गर्दैछु’ गीत गायिका ऋचा काफ्लेको स्वरमा सार्वजनिक भएको छ ।

विश्लेषक तथा गीतकार डम्बर खतिवडाको शब्द र मोहन तिम्सिनाको सङ्गीत रहेको गीतले पीडाबीच पनि सपना देख्न नछाड्ने मानिसको अन्तरमनलाई समेटेको छ ।

गीतको सुरुवाती पङ्क्तिले बाँच्नुको अर्थ खोज्छ भने ‘दिनदिनै बौरिँदैछु दिनै मर्दैछु’ भन्ने अभिव्यक्तिले चोटले टुट्ने र आशाले फेरि उठ्ने मानवीय अवस्थालाई उजागर गर्छ ।

‘केही चाहना छन्, बलेँसीमा रुन्छन्’ र ‘केही भावना छन्, अचानोमा हुन्छन्’जस्ता पङ्क्तिले परिचित बिम्बमार्फत अधुरा रहर र मनका पीडालाई जीवन्त बनाएका छन् ।

झरी, बादल र भेलबीच अघि बढिरहेको पात्र ‘तर पनि इन्द्रेणीको सिँढी चढ्दैछु’ भन्दै दुःखबाट उज्यालोतर्फ पुग्ने सपना जोगाइरहन्छ ।

गीतमा चन्द्रमा छुने सुख र मुटु ठुँग्ने चोट सँगसँगै आउँछन्, जसले एउटै जीवनभित्र गाँसिएका खुसी र दुःखको यथार्थ बोल्छन् ।

यस्तो भाव बोकेको गीत लिएर आएकी ऋचा स्वास्थ्य सेवा, अध्ययन र पारिवारिक जिम्मेवारीसँगै गायनलाई निरन्तरता दिइरहेकी छन् ।

सुनसरीको बकलौरी स्वास्थ्य चौकीमा नर्सका रूपमा कार्यरत उनी हाल अध्ययन बिदामा पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङको थप अध्ययन गरिरहेकी छन् ।

दुई छोराको हेरचाह र पढाइबीच सङ्गीतका लागि समय निकालिरहेकी ऋचाको औपचारिक गायन यात्रा २०७४ सालमा ‘नफक्रँदै फूलको चोला’ गीतबाट सुरु भएको थियो ।

एक दर्जनभन्दा बढी गीतमा एकल स्वर दिइसकेकी उनका ‘एक आनी दुवानी’ र ‘कुरा बुझे बरिलै’ लगायतका गीत सार्वजनिक छ ।