२ कार्तिक २०८३, सोमबार

जुम्लामा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट, २ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला । जुम्लाको हिमा गाउँपालिका २, ओदीमा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एकजना सामान्य घाइते भएका छन् ।

हिमा गाउँपालिका २ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा पुरानो जीआई पाइपजस्तो वस्तु ग्राइन्डरले काट्दा विस्फोट भएको हो ।

विस्फोटमा परी स्थानीय बल रोकाया गम्भीर घाईते भएका छन् । ज्योति रोकायाका छोरा १४ वर्षीय बल रोकायाको खुट्टामा चोट लागेको हो ।

पाइप विस्फोटका कारण बालकको खुट्टामा गम्भीर क्षति पुगेको वडाध्यक्ष रोकायाले जानकारी दिए । उनका अनुसार घटनामा कमल थापा पनि सामान्य घाइते भएका छन् ।

वडाध्यक्ष रोकायाका अनुसार उक्त पाइपभित्र गोलीका छर्राजस्तो वस्तु भरिएको आशंका गरिएको छ । विगतमा थापाको घरमा माओवादी बसेको भन्ने जानकारीका आधारमा पुरानो विस्फोटक पदार्थ त्यहाँ रहेको हुनसक्ने उनले बताए । यद्यपि, पाइपभित्र के पदार्थ थियो र विस्फोटको वास्तविक कारण के हो भन्ने विषयमा आधिकारिक पुष्टि हुन बाँकी छ ।

विस्फोटमा गम्भीर घाइते भएका बालक बल रोकायालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ल्याइएको छ ।

घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार पार्ने तथा आवश्यक अनुसन्धान गर्ने काममा जुटेको बुझिएको छ ।

घटनाबारे प्रहरीको आधिकारिक विवरण र घाइतेहरूको थप स्वास्थ्य अवस्थाबारे जानकारी आउन बाँकी छ । (तस्वीर फाइल)