काठमाडौं । भारतको लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले लोकतन्त्र बचाउने संघर्षमा इन्डिया गठबन्धन एकजुट रहेको बताएका छन् ।
बुधबार इन्डिया गठबन्धनको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गान्धीले भोट चोरीमा संलग्न कसैलाई पनि नछोड्ने बताए ।
उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा नै अहिलेको गठबन्धनको प्रमुख उद्देश्य रहेको बताए ।
गान्धीले लोकतन्त्रको हत्या भएको र यसलाई बचाउनु नै अहिलेको एकमात्र लक्ष्य रहेको घोषणा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार र गृहमन्त्री अमित शाहलाई कानूनी कठघरामा ल्याइने बताए ।
गान्धीले देशमा लोकतन्त्र समाप्त पार्ने खेल भइरहेको भन्दै अबको संघर्ष छुट्टाछुट्टै लडाइँहरूको शृङ्खला नभई एउटै आन्दोलन भएको बताए ।
उनले मंगलबारको दिल्ली प्रदर्शनमा सहभागी भएर साथ दिनेहरुलाई धन्यवाद समेत दिए ।
‘हामी दिल्ली र सम्पूर्ण भारतका जनतालाई धन्यवाद दिन चाहन्छौँ, जसले भइरहेको गलत कार्यविरुद्ध हाम्रो साथ दिनुभयो । यो हाम्रो मात्र कुरा होइन । यो भारतका जनताको कुरा हो । यो भारतका जनताको भविष्यको सवाल हो । हामी तपाईंहरूलाई माया र सम्मान गर्छौँ, त्यसैले यस देशमा लोकतान्त्रिक प्रक्रिया पुनःस्थापना गर्न हामी सबै मिलेर अन्तिमसम्म लड्नेछौँ ।’ उनले भने ।
गान्धीले विपक्षीहरूको संघर्ष जारी रहने र लक्ष्य हासिल नभएसम्म यो चलिरहने बताए ।
उनले भने, ‘जुन ऊर्जा, शक्ति र एकताको भावनाका साथ हामीले यो आन्दोलन सञ्चालन गर्यौँ, त्यही भावनाका साथ हामीसँगै मिलेर संघर्ष जारी राख्नेछौँ ।’
गान्धीले भारतको सर्वोच्च अदालत, प्रधानन्यायाधीश र न्याय प्रणालीप्रति उच्च सम्मान रहेको बताउँदै लोकतन्त्र बचाउन उनीहरूले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।











प्रतिक्रिया