२८ आश्विन २०८३, बुधबार

रास्वपा सांसद खगेन्द्र सुनारको आपत्तिजनक अडिओ बाहिरियो : पूर्वमन्त्री कांग्रेस नेतृलाई ज्यान मार्ने धम्की, अश्लील गालीगलौज

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले एक महिला पूर्वमन्त्रीसँग गरेको निकै आपत्तिजनक अडिओ सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् ।

जनआस्था साप्ताहिकको अनलाइन संस्करणले सोमबार सार्वजनिक गरेको अडिओमा सुनारले एक महिलालाई अपमानजनक भाषा प्रयोग गरेको, ज्यान मार्नेसम्मको धम्की दिएको र पटकपटक रकम माग गरेको अडिओले सुनार विवादमा तानिएका हुन् ।

बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सुनारले अडिओमा ती महिला र उनका बच्चालाई समेत ज्यान मार्नेसम्मको धम्की दिएका छन् ।

सुनारले ती कांग्रेस नेतृ भनिएको महिलालाई दमिनी, सर्किनी, एचआईभी एड्स लागेकी, तँ कति बाँच्छेस्जस्तो अपशब्दहरुसहित गालीगलौज गरेका हुन् । अडिओमा सुनारले महिलाप्रति जातीय रूपमा अपमानजनक शब्द प्रयोग गरेका छन् । साथै, सुनारले महिलाको व्यक्तिगत जीवन र परिवारलाई लक्षित गरी आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

अडिओमा महिलाले आफूलाई कुटपिट गर्ने, काट्ने र मार्ने धम्की दिने, नाङ्गो भिडियो बनाउने तथा रकम नदिए यातना दिने गरेको गुनासो गरेको स्पष्ट सुनिन्छ । ती गुनासोपछि पनि सुनारले रकम माग गरेको संवाद अडिओमा रहेको छ ।

ती महिलाले अडियोमा निकै निरीह रुपमा बोलेकी छिन् ।

ती महिलाले सुनारसँग सोध्छिन्, ‘मलाई बूढी भन्ने , तर सधैँ कुट्ने, पिट्ने, काट्छु भन्ने, मार्छु भन्ने, मेरो नांगो भिडियो बनाउने, दुनियाँथरी टर्चर दिने, पैसा दिन्नँ भनेपछि पिट्ने, आखिर मैले यो कहिलेसम्म सहने ?’ त्यसपछि पनि सुनारले पैसाकै डिमाण्ड दोहोर्‍याएको सुनिन्छ, ‘आज पैसा आउँछ नि हैन ?’

लामो श्वास फेर्दै महिलाले फेरि सोध्छिन्, ‘हजुरलाई पैसा नै चाहिएको त ?’ त्यसपछि सुनार भन्छन्, ‘अँ मलाई पैसा चाहिएको हो । साँझ आउँछ हैन ?’

आफ्नो बदनाम हुने डरमा ती महिलाले अन्ततः बाध्य भएर भन्छिन्, ‘हस्, तपाईंलाई पैसा नै चाहिएको हो भने म जसरी भए पनि रेडी गर्छु ।’ त्यसपछि सुनारले थप कन्फर्म गर्न सोध्छन्, ‘जहाँ गएर हुन्छ, मलाई पैसा पठा । बुझिस् कि बुझिनस् ?’

महिलाले ‘बुझेँ’ भनेपछि सुनार कुनै चलचित्रको खलनायक झैँ गलल हाँसेको पनि अडिओमा स्पष्ट सुनिन्छ ।

सुनारको हाँसो नरोकिएपछि ती महिलाले रुँदै सोध्छिन्, ‘मैले के बिगारेको थिएँ र तपाईंले यस्तो गर्दै हुनुहुन्छ ?’

जवाफमा सुनार मानवीय समवेदनाको न्यूनतम सीमासमेत नाघेर भन्छन्, ‘हिरोको आमालाई, हिरोइनलाई बलात्कार गर्दा भिलेनलाई जस्तो आनान्द आउँछ नि, त्यस्तै भैराछ ।’

महिलाले आफूले भोग्नुपरेको व्यवहारबारे प्रश्न गर्दा अडिओमा सांसद सुनारले रकम चाहिएको भन्दै पैसा पठाउन दबाब दिएका सुनिन्छ । महिलाले जसरी भए पनि रकम जुटाउने बताएपछि सुनारले खित्का छोडेर हाँसेको स्पष्ट सुनिन्छ ।

राजनीतिक दलका नेतादेखि प्रहरी प्रमुखसम्मलाई भ्रष्ट भन्दै सराप्ने सुनारको वित्तीय कारोबार समेत शंकास्पद देखिएको छ । सिटिजन, एनआइएमबी, महालक्ष्मी, कामना सेवालगायतका बैंकमा रहेका खाताबाट गरिएका कारोबार अस्वभाविक देखिएको हो । युके, जापान, भारतसहितका विभिन्न देशबाट लाखौं रुपियाँ खातामा आएको ट्रान्जेक्सन अभिलेखबाट बुझिन्छ । यद्यपि, उक्त पैसा कुन प्रायोजनका लागि पठाइएको हो, त्यसबारे भने प्रष्ट छैन ।

सार्वजनिक अडिओबारे सांसद सुनारको प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल अफ रहेको पाइएको छ । अडिओ विषयमा पार्टीको धारणा बुझ्न खोज्दा रास्वपाका प्रवक्ता जगदीश खरेलले आफू काठमाडौं बाहिर रहेको र घटनाबारे पूर्ण जानकारी नभएको बताएका छन् । उनले तत्काल प्रतिक्रिया दिन अस्वीकार गरे ।

सुनारको आपत्तिजनक अडिओ सार्वजनिक भएपछि घटनाको छानबिन गरी आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग उठिरहेको छ ।

पटकपटक विवादित अभिव्यक्ति कारण सुनारको क्षेत्र बाँके ३ का रास्वपा स्थानीय नेताकार्यकर्ता असन्तुष्ट छन् ।

हालै केही स्थानीय नेताहरुले पार्टीले अघि सारेको ‘राइट टु रिकल’का आधारमा सुनारलाई फिर्ता बोलाउन पार्टी नेतृत्वलाई लिखित पत्र समेत पठाएका थिए ।

संसदीय दलका नेता (प्रधानमन्त्री बालेन्द्र साह)लाई सम्बोधन गरेर बुझाइएको उक्त पत्रमा बारम्बार विवादित अभिव्यक्ति दिने र विवाद बढाउने काम गरिरहेकाले सांसद सुनारसँग मिलेर काम गर्न सकिने वातावरण नै नभएको दाबी गरिएको थियो ।