काठमाडौं । हलमा प्रदर्शनरत फिल्म ‘अक्षरा’का अभिनेता पुस्कर राउत नयाँ फिल्ममा अनुबन्ध भएका छन् ।
शनिबार फिल्मका निर्देशक नविन पन्तले अभिनेता राउतलाई आफ्नो फिल्म ‘बाकस’मा अनुबन्ध गरेका हुन् । उनलाई कुन भूमिकामा लिइएको निर्देशक पन्तले खुलाउन चाहेनन् ।
उनले भने, ‘फिल्मको कथावस्तु अनुसार नै उहाँलाई फिल्ममा अनुबन्ध गरिएको हो । उहाँको भुमिकामा बारेपछि भनौँला ।’
पुस्करको हलमा प्रदर्शन भइरहेको फिल्म ‘अक्षरा’ पहिलो भने होइन । यसअघि उनले ‘कम्पन’, ‘एकलव्य’, ‘आँधी तुफान’ लगायत फिल्ममा अभिनय गरिसकेका छन् । दर्शकमाझ छुट्टै पहिचान बनाएका अभिनेता राउत अब ‘बाकस’मार्फत पर्दामा देखिनेछन् ।
यसअघि यो फिल्ममा महेश त्रिपाठी, विपना थापा, वर्षा राउत, भोलाराज सापकोटा, सुपला सापकोटा लगायतका कलाकार अनुबन्ध भइसकेका छन् ।
सुजिता चौलागाईंको निर्माण रहने यो फिल्ममा छत्रबहादुर खड्का सहनिर्माता र धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता छन् ।
दीपक शर्मा र सनम पुरुष राईको संगीत रहने यो फिल्ममा गीत तथा शब्द रचना संगीतकार दीपक शर्मा र निर्देशक पन्तको रहनेछ ।
अर्को महिनाबाट छायांकनमा जाने यस फिल्मका मुख्य सहायक निर्देशक मनि तामाङ हुन भने द्वन्द्व निर्देशकमा किरण दाहाल छिन् । प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने छन् ।











प्रतिक्रिया