२८ आश्विन २०८३, बुधबार

दशैंमा जनताले सास्ती पाउँदा सरकार किन मौन ? : निरज आचार्य

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का प्रचार विभाग प्रमुख निरज आचार्यले दशैंका बेला महँगी, अभाव, कालोबजारी र यातायातको समस्याले सर्वसाधारणले सास्ती भोग्नुपर्दा पनि सरकार मौन रहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै आचार्यले यस्तो आरोप लगाएका हुन् । उनले जनजीविकासँग जोडिएका समस्याप्रति गम्भीर बन्न सरकारलाई आग्रह समेत गरेका छन् ।

आचार्यले यातायातमा मनपरी भाडा असुल्ने प्रवृत्ति रोक्न, तोकिएको भाडादर कार्यान्वयन गर्न तथा हवाई भाडा सर्वसाधारणको पहुँचमा राख्न माग गरे ।

त्यस्तै, ग्यास र इन्धनको सहज आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव र कालोबजारी गर्नेमाथि कडा कारबाही गर्न तथा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘यति कुरामा त सरकार गम्भीर बन् !’ भन्दै उनले जनताका समस्यामा आश्वासनभन्दा पनि तत्काल देखिने परिणाम आवश्यक रहेको बताए ।

दशैंमा घर जाने यात्रुहरू टिकटको महँगो मूल्य र यातायातको समस्याका कारण प्रभावित भएको उल्लेख गर्दै आचार्यले आर्थिक अभावमा घर पुग्ने रहर अधुरै छाड्न बाध्य नागरिकप्रति सरकार संवेदनशील हुनुपर्ने बताए ।

‘जनता कुनै दलका कार्यकर्ता मात्र होइनन्, देशका नागरिक हुन् । जनतालाई सास्ती दिएर सत्ताको रसस्वादन गर्ने छुट कसैलाई छैन,’ उनले लेखेका छन् ।

आचार्यले सामाजिक सञ्जालमा रहेका फ्यान र फलोअरलाई मात्र जनता ठान्ने सरकारी प्रवृत्तिप्रति पनि टिप्पणी गरेका छन् ।

ग्यास, चिनी, तेल र खाद्यान्नको अभावमा कष्टकर जीवन बिताइरहेका तथा महँगीका कारण दशैंमा घर जान नसकेका नागरिकका समस्यालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

उनले सरकारलाई मानवीय संवेदना कायम राख्न, जनताप्रति जवाफदेही बन्न र आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।