ललितपुर । नेपालमा असमानता न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको कृत्रिम बुद्धिमत्ता (एआई) साक्षरता पाइलट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले एआई प्रविधिको व्यावहारिक, जिम्मेवार र समावेशी प्रयोगमार्फत नागरिकको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएको छ ।
‘नेपालमा असमानता न्यूनीकरणका लागि एआई साक्षरताः पहुँचदेखि सक्रिय सहभागितासम्म’ कार्यक्रमको अन्तिम अनुभव आदानप्रदान तथा समापन कार्यक्रम शुक्रबार ललितपुरस्थित साङ्ग्रिला ब्लु होटलमा आयोजना गरिएको थियो ।
ललितपुर महानगरपालिका वडा नम्बर २ सँगको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रममा सहभागी, स्थानीय सरकारका प्रतिनिधि, नागरिक समाजका साझेदार तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो ।
परियोजना संयोजक तथा यूएन अनलाइन भोलेन्टियर जयराजकुमार रोय दनुवारका अनुसार कार्यक्रममा सहभागीहरूले सन् २०२६ जुनमा सञ्चालन गरिएको तालिमपछि एआई उपकरणहरूको प्रयोगबाट प्राप्त अनुभव साटासाट गरेका थिए ।
एआईले आफ्नो काम, अध्ययन, सञ्चार तथा सामुदायिक गतिविधिमा पारेको प्रभावबारे प्रस्तुति र छलफल गरिएको थियो । साथै, एआई प्रविधिको सम्भावना, सीमितता र यसको प्रयोगबारे पनि चर्चा गरिएको थियो ।
कार्यक्रममा डिजिटल पहुँच विस्तारसँगै आलोचनात्मक सोच, प्रविधिको जिम्मेवार प्रयोग र डिजिटल समावेशितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो ।
सहभागीहरूले भविष्यमा एआई साक्षरता अभिवृद्धि तथा डिजिटल असमानता न्यूनीकरणका लागि नीति निर्माता, शिक्षाविद् र विकासकर्मीलाई सुझाव समेत दिएका थिए ।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य समुदायका सदस्य तथा स्थानीय सरकारसँग सम्बन्धित सरोकारवालाहरूलाई एआई प्रविधिबारे जानकारी प्रदान गर्नुका साथै यसको प्रयोगमा आत्मविश्वास र निर्णय क्षमता अभिवृद्धि गर्नु हो ।
कार्यक्रमलाई लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स (एलएसई)अन्तर्गतको इन्टरनेसनल इनइक्वालिटिज इन्स्टिच्युटको एटलान्टिक फेलोसिप फर सोसल एन्ड इकोनोमिक इक्विटीले सहयोग गरेको हो ।











प्रतिक्रिया