काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं–तिहार अफर २०८३ सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेज लगायतका सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
टेलिकमका अनुसार अफरअन्तर्गत भोलि असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शुल्क (५०० रुपैयाँ) मिनाहा गरिनेछ ।
त्यसैगरी, १००, १५० र २०० एमबीपीएसको नयाँ वार्षिक प्याकेज लिने ग्राहकहरुलाई एक महिना थपसहित १३ महिनाको प्याकेज उपलब्ध हुनेछ । यसमा बोनसको रुपमा उपलब्ध हुने मोबाइल डाटा समेत १३ महिना सम्म नै उपलब्ध हुनेछ ।
भर्चुअल सेट–टप बक्स सहितको प्याकेज लिने ग्राहकहरुका लागि १००० रुपैयाँ छुट पहिलेदेखि नै उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत जीएसएम मोबाइल सेवाका ग्राहकहरुका लागि ४९९ रुपैयाँमा ५ जीबी फेस्टिभल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध हुनेछ । फेस्टिभल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको ५ जीबी डाटा भोल्युम खपत भइसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको १० जीबी डाटा भोल्युम खपत भइसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नेछन् ।
यसका साथै, २५० रुपैयाँमा १००० मिनेट अल–नेट भ्वाइस सुविधा सहितको जोयफुल मिनेट्स र ९९ रुपैयाँमा १००० अन–नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत उपलब्ध हुनेछ । यी सबै प्याकेज प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।
यही असोज ३० गतेदेखि कात्तिक ३० सम्म मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकहरुले यो अफरअन्तर्गतको सुविधा लिन सक्नेछन् । ग्राहकहरुले आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर प्याकेजहरु खरिद गर्न सकिनेछ ।
विभिन्न पर्वहरुका अवसरमा उपलब्ध गराइने यस प्रकारका अफरहरुले चाडपर्वको समयमा अझ बढी सम्पर्कमा रहन, आफन्तसँग खुशी बाँड्न र डिजिटल सेवाहरुको प्रयोग बढाउन प्रोत्साहित गर्ने कम्पनीको विश्वास रहेको छ ।











प्रतिक्रिया