–सञ्जय मिश्रा
रौतहट । महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा २४ वर्षीय विवेक सरदारको विभत्स हत्या प्रकरणमा जिल्ला अदालतले चार आरोपितमध्ये तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अर्की एक आरोपितलाई भने २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।
जिल्ला अदालत महोत्तरीका न्यायाधीश सञ्जीव पोखरेलको इजलासले अशोक ठाकुर, उनकी बुहारी सोनु ठाकुर र ज्वाइँ सियाराम ठाकुरलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । अशोककी श्रीमती रामकली देवीलाई धरौटीमा छाड्ने आदेश भए पनि रकम बुझाउन नसकेपछि उनलाई पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका सूचना अधिकारी विश्वम्भरनाथ साहका अनुसार मृतकका बुबा अशोककुमार बातर सरदारको जाहेरीका आधारमा दर्ता भएको कर्तव्य ज्यान मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।
सेफ्टी ट्यांकीमा भेटिएको थियो टुक्राटुक्रा शव
गत भदौ २६ गते बलवा नगरपालिका–७ बनौटास्थित अशोक ठाकुरको घरको शौचालयमा रहेको सेफ्टी ट्यांकीभित्र भंगहा नगरपालिका–६ निवासी विवेक सरदारको शव फेला परेको थियो ।
शव नौ टुक्रा पारेर ट्यांकीमा राखिएको र माथिबाट प्लास्टर गरिएको अवस्थामा भेटिएपछि घटना सार्वजनिक भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सोनु ठाकुरसँग प्रेम सम्बन्ध रहेको विषयलाई लिएर विवेकलाई भदौ १५ गते घरमा बोलाइएको र त्यही हत्या गरिएको आशंका गरिएको छ । हत्या गरेर शव लुकाइएको घटनाको रहस्य ११ दिनपछि खुलेको थियो ।
विदेशबाट आएका श्रीमान् पनि अनुसन्धानको दायरामा
प्रहरी अनुसन्धानका क्रममा घटनाको योजनादेखि कार्यान्वयनसम्म विभिन्न व्यक्तिको संलग्नताबारे अनुसन्धान गरिएको जनाइएको छ । सोनु ठाकुरका श्रीमान् जितेन्द्र ठाकुर समेत विदेशबाट आएको र घटनापछि फरार रहेको बताइएको छ ।
अदालतको आदेशपछि पक्राउ परेका चारै जना कारागार पुगेका छन् । फरार भनिएका जितेन्द्र ठाकुरको खोजी तथा घटनामा उनको सम्भावित संलग्नताबारे अनुसन्धान भने जारी रहेको जनाइएको छ ।
विवेकको हत्यासँग जोडिएको यो घटनामा अदालतको आदेशसँगै अनुसन्धान र न्यायिक प्रक्रिया थप अघि बढ्ने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया