काठमाडौं । विश्वका सर्वाधिक धनी व्यवसायी एलन मस्क र भारतका प्रमुख उद्योगपति मुकेश अम्बानीको टकराव सतहमा आएको छ ।
मस्कले अम्बानीलाई ‘प्रधानमन्त्री अम्बानी’ भन्दै व्यंग्य गरेका छन् ।
भारतमा आफ्नो कम्पनी स्टारलिंकको स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न भइरहेको ढिलाइको बीचमा मस्कको यो टिप्पणी आएको हो ।
मस्कले अम्बानीले भारतमा आफ्नो एकाधिकार कायम राख्न चाहेको र भारतमा स्टारलिंकले प्रतिस्पर्धा गर्ने मौका नपाइरहेको बताए ।
मस्कले व्यंग्यात्मक टिप्पणी गर्दै भने कि भारतमा वास्तविक शक्ति अम्बानीमै निहित छ भन्ने कुरा बुझ्न उनलाई समय लाग्यो ।

‘स्वाभाविक रूपमा, तपाईं भारतका महान् जनतामाथि आफ्नो एकाधिकारवादी शोषण कायम राख्न चाहनुहुनेछ, तर के तपाईं तैपनि ‘स्टारलिंक’लाई प्रतिस्पर्धा गर्न दिने विषयमा विचार गर्नुहुनेछ ?’ मस्कले आफ्नो एक्स (ट्वीटर)मा लेखेका छन्, ‘अन्य सबै देशहरूमा जस्तै भारतमा पनि यस्ता धेरै क्षेत्रहरू छन् जहाँ इन्टरनेटको पहुँच छैन । यसले गर्दा बालबालिकाहरू शिक्षाको अवसरबाट वञ्चित भएका छन् भने साना व्यवसायीहरूले आफ्ना सामानहरू विश्व बजारमा बिक्री गर्ने अवसर गुमाइरहेका छन् । स्टारलिंकले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ । धन्यवाद’
मस्कको विश्वास छ कि स्टारलिंकको सेवाले हाल इन्टरनेटको पहुँच कमजोर वा उपलब्ध नभएका क्षेत्रहरूमा इन्टरनेट सुविधा पुर्याउन मद्दत गर्न सक्छ । यसले दुर्गम क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई अनलाइन शिक्षामा सहयोग पुर्याउनुका साथै साना व्यवसायीहरूलाई आफ्ना उत्पादनहरू ठूला बजारसम्म पुर्याउन सक्षम बनाउन सक्छ ।
यो विवाद भारतमा स्टारलिंकको प्रवेशमा भएको ढिलाइबाट उत्पन्न भएको हो ।
मस्कको कम्पनी स्पेसएक्सको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकले लामो समयदेखि भारतमा आफ्नो सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले आवश्यक अनुमतिहरू प्राप्त गरिसकेको भए तापनि व्यावसायिक सेवा सुरु गर्नुअघि अझै केही थप स्वीकृतिहरू प्राप्त हुन बाँकी नै छ ।
मस्कका अनुसार स्टारलिंकले १६५ भन्दा बढी देशहरूमा अनुमतिपत्र लिएर सञ्चालन गरिरहेको छ र कम्पनीले भारतमा नियमहरूको पालना गर्ने प्रयासमा करिब पाँच वर्ष बिताइसकेको छ । यति हुँदाहुँदै पनि सेवा सुरु गर्ने अनुमति प्राप्त गर्न ढिलाइ भइरहेको छ ।
मस्कले यसअघि केही ठूला व्यापारिक समूहहरूले आफ्नो बजार प्रभुत्व कायम राख्न स्टारलिंकको भारत प्रवेशमा अवरोध पुर्याइरहेको आरोप लगाएका थिए । तर उनले यी दाबीहरू पुष्टि गर्ने कुनै सार्वजनिक प्रमाण भने अझै प्रस्तुत गरेका छैनन् ।
भारतीय उद्योगपति अम्बानीको रिलायन्स जियो भारतको दूरसञ्चार बजारमा एक प्रमुख कम्पनी हो । जियोको स्याटेलाइट इन्टरनेटसम्बन्धी सहायक कम्पनी जियो स्याटकम् पनि यस क्षेत्रमा सेवा सञ्चालन गर्ने तयारीमा छ ।











प्रतिक्रिया