काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’को असोज २३ गते (९ अक्टोबर)बाट हुने भनिएको रिलिज तत्कालका लागि स्थगित गरिएको छ ।
नेपाल र भुटानमा रिलिजको तयारीमा रहेको चलचित्रको ग्राण्ड प्रिमियरबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि निर्माण टिमले चलचित्रलाई दुई देशमा मात्र सीमित नराखी विश्वव्यापी रूपमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
निर्माण टिमका अनुसार अब चलचित्रलाई नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विश्वका विभिन्न देशमा प्रदर्शन गरिनेछ । यसका लागि आवश्यक प्रक्रिया तथा व्यवस्थापन पूरा गरेपछि चलचित्रको नयाँ रिलिज मिति छिट्टै घोषणा गरिने जनाइएको छ ।
‘टनेल २६’को निर्माणमा डोर्जिस प्रोडक्सन, रेल्टिक पिक्चर्स, रोलिङ इमेज पिक्चर्स लगायतको सहकार्य रहेको छ । डोर्जिस प्रोडक्सनको तर्फबाट दोर्जी वाङ्चुक, रेल्टिक पिक्चर्सबाट प्रशान्त कुमार गुप्ता र कृष्ण गुप्ता तथा रोलिङ इमेज पिक्चर्सबाट डीडी किन्ले निर्माण सहकार्यमा जोडिएका छन् । चलचित्रका कार्यकारी निर्माता दोर्जी वाङ्चुक तथा क्रिएटिभ प्रोड्युसर प्रदीप खड्का हुन् । साथै, चलचित्रको निर्माणमा सिजी ग्रुपका निर्वाण चौधरी पनि जोडिएका छन् ।
चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका छन् । चलचित्रमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन् ।
चलचित्रको छायांकन दीर्घ गुरुङ र सङ्गे टी तेन्जिङले गरेका छन् भने एक्सन निर्देशन राजु तामाङको रहेको छ । निर्माण डिजाइन कृष्ण शर्माको रहेको चलचित्रमा पेमा लामोले निर्माण व्यवस्थापन तथा ब्लु छेरिङ दोर्जीले मेकअप तथा कस्ट्युमको जिम्मेवारी सम्हालेका छन् । साथै, चलचित्रको संगीत टेरड्साक जानपान तथा ध्वनि करण थामावोङको रहेको छ । चलचित्रको व्यवस्थापनमा लिभेन्ट्स स्टुडियो तथा सन्तोष कुमार कार्की पनि जोडिएका छन् ।
निर्माण टिमले चलचित्रको प्रदर्शन स्थगित गर्नुपरेकोमा दर्शक, सञ्चारकर्मी, प्रदर्शक तथा शुभेच्छुकहरूप्रति क्षमायाचना गर्दै चलचित्रप्रति देखाएको माया, उत्साह र विश्वासका लागि आभार व्यक्त गरेको छ ।
निर्माण टिमले अब ‘टनेल २६’लाई अझ व्यापक दर्शकमाझ पुर्याउने उद्देश्यसहित विश्वव्यापी प्रदर्शनको तयारी अघि बढाएको जनाएको छ ।











प्रतिक्रिया