३० आश्विन २०८३, शुक्रबार

मोदीले भने-‘नेपालको तराईमा के-का लागि आन्दोलन ? सरकारले सम्बोधन गर्नुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Band (1)काठमाडौँ, ४ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै सांसदहरूले सङ्घीयताका विषयलाई लिएर देशका विभिन्न भागमा भएको आन्दोलन दबाउन सरकारका तर्फबाट भएका क्रियाकलापप्रति विरोध जनाए ।

एकीकृत नेकपा माओवादीका सभासद अमनलाल मोदीले तराईमा भइरहेको आन्दोलनका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नु्भयो–‘नेपालको तराईमा भइरहेका आन्दोलन के का लागि हो सरकारले बुझ्नुपर्छ । अन्यथा ठूलो संकट आउन सक्छ ।’

सांसद नागेन्द्रप्रसाद थारुले सरकारले १६ बुँदे सहमति लत्याएकाले जनता आन्दोलित भएका हुन् भन्दै सो सहमति कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

सांसद योगेन्द्र चौधरीले बिहीबार भैरहवामा शान्तिपूर्ण जुलुस प्रदर्शनका क्रममा स्थानीय देवीप्रसाद चौधरीको घरमा आक्रमण हुँदा पनि प्रहरीले सुरक्षा नदिएको गुनासो गर्दै मधेसी तथा थारु जातिको आन्दोलनविरुद्ध साम्प्रदायिक हिंसा फैलाउने काम भएको उल्लेख गर्नुभयो ।

सांसद दीपक बोहराले १० दिनदेखि रुपन्देहीमा विभिन्न राजनीतिक दलले आन्दोलन गरिरहे पनि बिहीबार निस्केको जुलुस साम्प्रदायिक हिंसा फैलाउने खालको भयो, यस्ता अवाञ्छित क्रियाकलाप गर्नेलाई कारबाही हुनुपर्छ भन्नुभयो ।

सांसद अकवालअहमद साहले रुपन्देही जिल्लास्थित भन्सार कार्यालय नजिक प्रहरी प्रशासनको उपस्थितिमै मोटरसाइकल, ट्र्याक्टर र बसमा आगजनी हुँदा पनि सुरक्षाकर्मी मूकदर्शक भएर बसेको गुनासो गर्नुभयो ।

सांसद डिल्लीप्रसाद काफ्लेले दलीय भागबन्डाका आधारमा त्रिविविमा नियुक्ति नगर्न आग्रह गर्नुभयो ।

सांसद चित्रबहादुर केसीले सङ्घीयताका कारण मुलुक जलिरहेको, आन्दोलन बढिरहेको र जातिवाद तथा पृथकतावाद मौलाइरहेको बताउँदै सङ्घीयताको आडमा जातीय, वर्गीय, क्षेत्रीय दङ्गा फैलाउने काममा देशी विदेशी शक्तिको खेल भएको र यो समस्याको समाधान नेपाली जनता स्वयंले गर्नुपर्ने बताउनुभयो ।

सांसद शिवचन्द्र चौधरीले मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराईसम्म जनता आन्दोलित रहेको अवस्थामा सरकारमा रहेका व्यक्तिहरू सत्ता लब्म्याउने काममा मात्र केन्द्रित रहेको आरोप लगाउनुभयो ।

सांसद हरिचरण साहले सर्लाहीमा काँग्रेस र एमालेले सत्ताको आडमा मधेस विरोधी काम गरेर जनतामा बदनामी फैलाएको काम गरको आरोप लगाउनुभयो ।

सांसद कृपाराम रानाले कैलाली–कञ्चनपुरमा रहेका राना थारुले आफूहरूलाई राज्यको मूलधारमा स्थापित गर्न खोजेकाले तिनलाई पहिचानको अधिकार दिइनुपर्ने बताउनुभयो ।

सांसद गोमा कुँवरले कर्णालीका जनतालाई आत्मसमर्पण गराउने प्रयास सार्थक नहुने बताउनुभयो ।

सांसद अब्दुल रज्जाक गद्दीले धार्मिक पर्व हजका लागि बर्सेनि मक्का मदिना जाने मुसलमान समुदायलाई सरकारबाट आर्थिक सहयोगसहित टिकटको व्यवस्था गर्न माग गर्नुभयो । रासस