२८ आश्विन २०८३, बुधबार

नाना पाटेकर : फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकर (वास्तविक नाम: विश्वनाथ पाटेकर) आफ्नो सशक्त अभिनय शैली, तिखो संवाद प्रस्तुति र अत्यन्तै सादा जीवनशैलीका लागि चिनिन्छन् । जसकाे आज हृदयघातका कारण निधन भएकाे छ । उनको जीवन सङ्घर्ष, समर्पण र सामाजिक उत्तरदायित्वको एउटा अनौठो कथा हो ।

बाल्यकालमा बुबाको व्यापारमा ठूलो घाटा भएपछि उनको परिवारको आर्थिक स्थिति अत्यन्तै बिग्रिएको थियो । नाना पाटेकरले मात्र १३ वर्षको उमेरमा गुजारा चलाउनका लागि मुम्बईका सडकहरूमा फिल्मका पोस्टर टाँस्ने र सडक पेन्ट गर्ने काम गरे, जसबापत उनले महिनाको करिब ३५ रुपैयाँ र एक छाक खाना पाउँथे । आफ्नो पढाइ र रङ्गमञ्च (थिएटर)का सुरुआती दिनहरूमा उनले अक्सर भोकमरी र कडा अभावको सामना गर्नुपर्‍यो ।

सन् १९९१ मा आएको आफ्नो फिल्म ‘प्रहार’मा सैनिकको भूमिका उत्कृष्ट ढङ्गले निभाउनका लागि उनले मराठा लाइट इन्फ्यान्ट्रीसँग करिब तीन महिनाभन्दा बढी कडा सैन्य तालिम लिएका थिए ।

सन् १९९९ को कारगिल युद्धका क्रममा उनी केवल एक अभिनेताका रूपमा मात्र नभई सेनाको हौसला बढाउन आफै अग्रिम मोर्चा (सिमाना)मा पुगेका थिए । उनले टेरिटोरियल आर्मीमा मानार्थ अधिकृतका रूपमा समेत सेवा दिएका छन् ।

उनले मराठी थिएटरबाट आफ्नो करिअरको सुरुआत गरेका हुन् । र सन् १९७८ मा ‘गमन’ फिल्मबाट हिन्दी सिनेमामा पहिलाे पटक देखिएका हुन् ।

परिन्दा (१९८९), क्रान्तिवीर (१९९४), अग्निसाक्षी, अपहरण, अब तक छप्पन र वेलकम जस्ता फिल्महरूमा उनको अभिनयको धेरै प्रशंसा गरियो । नाना पाटेकर भारतीय सिनेमाका एकमात्र यस्ता अभिनेता हुन्, जसले फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा, उत्कृष्ट अभिनेता (क्रान्तिवीर), उत्कृष्ट सहायक अभिनेता (परिन्दा) र उत्कृष्ट खलनायक (अग्निसाक्षी तथा अपहरण)मा जित हासिल गरेका छन् । उनलाई भारत सरकारद्वारा ‘पद्मश्री’बाट पनि सम्मानित गरिसकिएको छ ।

करोडौं रुपैयाँ कमाउने र अपार प्रसिद्धि कमाएका बाबजुद उनी वर्षौंसम्म मुम्बईमा १ बिएचकेको एउटा साधारण फ्ल्याटमा बस्थे । उनी सधै तडकभडक, बडीगार्ड र विलासी जीवनशैलीबाट टाढा रहन मन पराउँथे ।

महाराष्ट्रमा खडेरीका कारण जब किसानहरूको आत्महत्याको घटना बढे पछि उनले सन् २०१५ मा अभिनेता मकरन्द अनासपुरेसँग मिलेर ‘नाम फाउन्डेसन’को सुरुआत गरे । यसका माध्यमबाट उनले खडेरीग्रस्त क्षेत्रका किसान र तिनका परिवारलाई करोडौं रुपैयाँको आर्थिक सहायता दिए र गाउँहरूमा जल संरक्षणको काम गराए ।

नाना पाटेकर एक उत्कृष्ट सेफ पनि हुन् । उनलाई आफ्ना साथीहरू र फिल्मका क्रू टोलीका लागि आफै खाना पकाएर खुवाउने ठूलो सोख छ । आफ्ना फिल्महरूमा उनी अक्सर कुनै पनि स्टन्ट डबल (डुप्लिकेट) बिना नै आफैँ जोखिमपूर्ण एक्सन दृश्यहरू सुट गर्थे । उनी आफ्नो स्पष्टवादिताका लागि चिनिन्थे र कुनै पनि गलत विषयमा खुलेर आफ्नो धारणा राख्थे ।

नाना पाटेकर पर्दामा एक उत्कृष्ट कलाकार मात्र रहेनन्, बरु वास्तविक जीवनमा पनि आफ्नो उदारता र सादगीले गर्दा मानिसहरूको दिलमा एक ‘रियल हिरो’ बनेका छन् ।