२८ आश्विन २०८३, बुधबार

विवाद अन्त्य गरी एकताबद्ध हुन कांग्रेस इतर समूहका नेताहरुलाई गगनको आह्वान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको विवाद अन्त्य गरी एकताबद्ध हुन संस्थापनइतर समूहका नेताहरुलाई आह्वान गरेका छन् ।

बुधबार काठमाडौंको खुल्लामञ्चमा पार्टीको महाधिवशेनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै थापाले पुराना नेताहरूले पार्टी निर्माणमा दिएको लामो योगदानको स्मरण गर्दै पार्टीभित्रको विवाद अन्त्य गरी एकताबद्ध हुन संस्थापनइतर समूहका नेताहरुलाई आह्वान गरेका हुन् ।

उनले अब अदालत धाइराख्ने र समय बर्बाद गर्ने काम छोडेर यो अध्यायलाई यही अन्त्य गर्नुपर्ने उल्लेख गरे ।

उनले वैशाख ४ गतेको अदालतको फैसलापछि नै आफूले १५ औं महाधिवेशनतर्फ जाने र अदालत नधाउने स्पष्ट पारिसकेको स्मरण गराए ।

त्यस्तै, थापाले पार्टीभित्र असहमति राख्न, प्रश्न गर्न र विरोध गर्न पाइने भए पनि अन्ततः पार्टीको नियम, पद्धति र अनुशासनभित्र सबै बाँधिनुपर्ने स्पष्ट पारे ।

अदालतको आदेशअनुसार तोकिएको समयमा नै अधिवेशन सम्पन्न गर्नुपर्ने दबाबका कारण केही जिल्ला वा क्षेत्रमा विवाद र कमजोरीहरू रहन गएको स्वीकार गर्दै थापाले अन्याय वा विवाद भएका विषयहरुलाई सच्चाउने प्रतिवद्धता जनाए । उनले बन्दसत्रको समाप्तीसँगै पार्टीभित्रको सबै गुटबन्टी समाप्त भएको बताए ।

महाधिवशेनको अन्त्यसँगै अब पार्टीलाई नयाँ विधि र पद्धतीबाट सञ्चालन गरिने उनले बताए । उनले पार्टीभित्र युवा र नयाँ नेताहरुलाई स्थान दिनका लागि पदाधिकारी लगाएत सदस्यहरुको संख्या थप गरिएको बताए ।