विराटनगर । विराटनगरमा यही असोज २२ गतेदेखि सुरु हुन लागेको ‘विराट ट्रेड फेयर २०८३’को तयारी पूरा भएको विराट व्यापार संघले जनाएको छ ।
मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संघले ‘चार्डपर्वको उत्सव, व्यापारको महोत्सव’ भन्ने नारासहित असोज २२ गतेदेखि ३० गतेसम्म ९ दिन विराटनगरको जैन भवनमा आयोजना गर्न लागिएको विराट ट्रेड फेयरको तयारी पूरा भएको जनाएको हो ।
शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले आयोजना गर्न लागिएको विराट ट्रेड फेयरले केही मात्रामा भए पनि बजार चलायमान हुने र चार्डपर्वको बेला सिमावर्ती बजार जाने प्रवृत्ति घट्ने विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले बताए । उनले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्नेगरी तथा चार्डपर्व लक्षित सेवा र वस्तुको विक्री गरिने भएकाले ट्रेड फेयरले स्थानीय व्यापार वृद्धि गर्न सहयोग पुग्ने बताए ।
विराट ट्रेड फेयरमा खाद्यान्न, लत्ताकपडा, जुत्ता चप्पल, हार्डवेयर, अटोमोबाइल, फर्निचर, गृह उपयोगी सामग्रीका साथै बैंक तथा वित्तिय संस्थाको सेवाहरु लगायतका १ सय ३० वटा स्टलहरु राखिने बताइएको छ ।
करिब ७५ लाख रुपैया खर्च हुने अनुमान गरिएको सो ट्रेड फेयर करिब १ लाख दर्शकहरुले अवलोकन गर्ने र करिब १६ करोड ५० लाख रुपैयाको आर्थिक कारोबार गर्ने अनुमान गरिएको छ ।
ट्रेड फेयरमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरु रहने बताइएको छ ।











प्रतिक्रिया