काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारणसभा कम्पनीको सोमबार काठमाडौंमा सम्पन्न भएको छ । संस्थाको २० औं साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।
वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ आषाढ मसान्तको वासलात, नाफा–नोक्सानको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आ.व. २०८३/८४ को लागि लेखापरिक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा संस्थाको नियमावली अनुसार गरिएको संचालकको नियुक्ति अनुमोदन गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार तथा डिम्याट खाता लगायत लगानीकर्तासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न पूँजी बजारसम्बन्धी कार्यहरू सञ्चालन गर्दै आइरहेको छ ।
कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ भने कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन् ।











प्रतिक्रिया