मुम्बई । मुम्बईस्थित फिल्म सिटीमा रणवीर कपुर र साई पल्लवीको बहुप्रतिक्षित चलचित्र ‘रामायण’को छायांकन भइरहेको एउटा अस्थायी सेटमा सोमबार आगलागी भएको छ ।
गोरेगाउँ पूर्वस्थित ‘फिल्म सिटी’मा रहेको ‘रिलायन्स मिडिया वर्क्स’ र ‘प्राइम फोकस’को पछाडिपट्टि असोज १९ (५ अक्टोबर)को दिउँसो ४:०२ बजे ‘लेभल-१’ को आगलागी भएको हो । बीएमसीको मुम्बई फायर ब्रिगेडका अनुसार ‘प्राइम फोकस’ स्टुडियोको पछाडि १००x२० फिटको अस्थायी सेटमा रहेको पीसीआर युनिटबाट आगो सुरु भएको थियो ।
विद्युतीय तार, केबल, एसी युनिट, साउन्ड सिस्टम, काठ, बाँस, प्लास्टिकका सामग्री र सुटिङका उपकरणहरूमा सल्किएको आगोका कारण आकाशमा धुवाँको ठूलो मुस्लो उठेको थियो भने घटनास्थलमा केही बेर भागाभाग र त्रासको स्थिति सिर्जना भएको थियो । सामाजिक सञ्जालमा समेत यस घटनाका भिडियोहरू सार्वजनिक भएका छन् ।
मुम्बई फायर ब्रिगेड, प्रहरी, बीएमसी वार्ड नियन्त्रण कक्ष र १०८ एम्बुलेन्स सेवाको टोलीले टोली परिचालन गरी दिउँसो ४:५५ बजेसम्ममा आगो नियन्त्रणमा लिएको थियो । घटनामा कुनै मानवीय क्षति वा घाइते भएको खबर छैन ।
प्रारम्भिक रिपोर्ट अनुसार, आगो सुरुमा ‘पति पत्नी और पङ्गा २’को सेटबाट फैलिएर ‘एमटीभी हसल ५’ र ‘रामायण’को सेटसम्म पुगेको थियो । नजिकैका स्टुडियोहरूमा आगलागी भएपछि तीनवटै शो तथा चलचित्रको सुटिङ केही समयका लागि अवरुद्ध बनेको थियो । यद्यपि, क्षति कति भयो भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।
नितेश तिवारीको निर्देशनमा बनिरहेको ‘रामायण’ यस वर्षको सबैभन्दा प्रतिक्षित चलचित्रहरूमध्ये एक हो । दुई भागमा निर्माण भइरहेको यस चलचित्रको पहिलो भाग यसै वर्षको दीपावलीमा र दोस्रो भाग सन् २०२७ को दीपावलीमा प्रदर्शन गर्ने तालिका रहेको छ ।
हालै मात्र मुम्बईमा आयोजित ‘रामायण’सम्बन्धी एक कार्यक्रममा चर्चित युट्युबर ‘मिस्टरबिस्ट’ले पनि सहभागिता जनाएका थिए, जहाँ रणवीर कपुरले उनलाई भगवान रामबारे जानकारी दिँदै ‘जय श्री राम’ भन्न सिकाएका थिए ।











प्रतिक्रिया