२८ आश्विन २०८३, बुधबार

ओस्कारका लागि पाकिस्तानबाट वृत्तचित्र ‘ह्याङ्गिङ बाइ अ वायर’ सिफारिस

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामाबाद । मोहम्मद अली नकवीद्वारा निर्देशित वृत्तचित्र-थ्रिलर ‘ह्याङ्गिङ बाइ अ वायर’ ९९ औं एकेडेमी अवार्ड्सको ‘अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधाअन्तर्गत ओस्कारका लागि पाकिस्तानको आधिकारिक प्रविष्टिका रूपमा छनोट भएको छ ।

पाकिस्तान एकेडेमी छनोट समितिले यस चलचित्रलाई छनोट गर्दै पाकिस्तानी वृत्तचित्र निर्माणको क्षेत्रमा एउटा ऐतिहासिक कोसेढुङ्गाका रूपमा वर्णन गरेको छ । यससम्बन्धी घोषणा समितिकी उपाध्यक्ष साना जाहरा जाफरीले गरेकी हुन् ।

नकवीद्वारा निर्देशित यस वृत्तचित्रको लेखन तथा निर्माण नकवी र बिलाल सामीले संयुक्त रूपमा गरेका हुन् । चलचित्रले सन् २०२३ अगस्टमा उत्तरी पाकिस्तानको बाटाग्राममा घटेको केबलकार दुर्घटनालाई चित्रण गर्छ, जहाँ लट्ठा चुँडिदा विद्यालय जाँदै गरेका ६ जना छात्रसहित आठ यात्रु खोँचभन्दा करिब ९०० फिट माथि हावामा अड्किएका थिए । त्यसपछिको उद्धार कार्यलाई पाकिस्तानमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमै निकै चासोका साथ प्रत्यक्ष हेरिएको थियो ।

यस चलचित्रले प्रत्यक्षदर्शीका फुटेज, बाँच्न सफल व्यक्तिहरूका बयान र उद्धारकर्ताहरूसँगको कुराकानी तथा घटनाको पुनर्निर्माण मार्फत कथा प्रस्तुत गरेको छ ।

‘ह्याङ्गिङ बाइ अ वायर’ ले सन् २०२६ को ‘सनडान्स फिल्म फेस्टिभल’को ‘वर्ल्ड सिनेमा डकुमेन्ट्री कम्पिटिसन’मा प्रिमियर गर्नुका साथै ‘ट्रिबेका फेस्टिभल’मा पनि प्रदर्शन भइसकेको छ ।

यस चलचित्रको निर्माण एभरवन्डर स्टुडियो, युनिभर्सल पिक्चर्स कन्टेन्ट ग्रुप, माइन्डहाउस प्रोडक्सन र ६४ औं स्ट्रिट मिडियाले संयुक्त रूपमा गरेका हुन् । बेलायतमा यसको थिएटर वितरणको अधिकार ‘डगवुफ’ र अमेरिकामा ‘अब्रामोरामा’सँग छ । यो चलचित्र २८ अक्टोबरदेखि ‘प्यारामाउन्ट+’मा स्ट्रिमिङका लागि उपलब्ध हुनेछ ।

यस छनोटसँगै बाटाग्राम उद्धारको यो कथाले ओस्कारको ‘अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधामा पाकिस्तानको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ ।

सन् १९५९ देखि पाकिस्तानले यस विधामा १३ वटा चलचित्र पठाइसकेको भए पनि हालसम्म कुनै चलचित्र अन्तिम मनोनयनमा पर्न सकेका छैनन् । सन् २०२२ मा साइम सादिकको ‘जोयल्यान्ड’ सर्टलिस्ट हुनु नै यस विधामा पाकिस्तानको हालसम्मको सबैभन्दा ठूलो सफलता हो ।