काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गरेका छन् । पछिल्लो ८—१२ असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ शनिबार कुलेखानी ड्याम पुगेका थिए ।
मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गरेका थिए ।

मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताए । भारी वर्षाको बेला बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको बताए ।
‘केही दिनअघिको अविरल वर्षाका कारण देशका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा कुलेखानी बाँधमा पनि पानीको सतह सतर्कता तहमा पुगेको थियो र सम्भावित जोखिमको चिन्ता बढाएको थियो । साथै, यसले विद्युत् आपूर्ति व्यवस्थापनमा समेत केही दबाब सिर्जना गरेको थियो । नेपालको विद्युत् प्रणालीको ‘ब्याकअप’का रूपमा रहेको कुलेखानी जलविद्युत् केन्द्रमा पनि यसको प्रभाव परेको थियो,’ उनले भने ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले कुलेखानी विद्युत प्रणालीको मेरूदण्ड भएको बताए ।
‘यसले सिस्टमलाई पिकिङको लागि पनि महत्त्वपूर्ण भूमिका खेल्छ’ उनले भने, ‘सिस्टम अपरेटको पोइन्ट अफ भ्युबाट ठूलो योगदान रहिआएको छ ।’
श्रेष्ठले बाँधको अवस्था सामान्य रहेको बताए ।











प्रतिक्रिया