
एसएसपी सर्वेन्द्र खनाल
प्रमुख, महानगरीय अपराध महाशाखा
हामीलाई गुन्डागर्दीलगायत आपराधिक गतिविधिको मौखिक तथा लिखित उजुरी आइरहेका थिए । राजधानीमा शान्तिसुरक्षा कायम राख्न सिभिल र युनिफर्ममै विशेष टोलीहरू खटिरहेका थिए ।
त्यही क्रममा प्रहरीको चेकिङलाई कडा रूपमा अघि बढाइरहेको अवस्था छ । डिकीमा हतियार लुकाएर हिँड्ने गरेको र विगतमा पनि आपराधिक गतिविधिमा संलग्न भएको सूचनाका आधारमा हामीले पिछा गरेर कुमार घैँटेको सर्च गर्न खोजेका थियौँ ।
प्रहरी हौँ भन्दाभन्दै पनि जाइलागे । त्यति मात्र होइन, प्रहरीमाथि पछाडिबाट उसका अरू सदस्यले हेलमेटले आक्रमण गरे । उसले हतियार निकालेर फायर गरेपछि आत्मरक्षाका लागि पनि गोली हान्न प्रहरी बाध्य भयो ।
त्यस्तो अवस्थामा गोली हान्नुबाहेक अर्को विकल्प प्रहरीसँग थिएन । घाइते उनीहरू तीनैजनालाई प्रहरीकै गाडीमा उपचारका लागि टिचिङ अस्पताल पठाइयो ।
त्यसक्रममा प्रहरीका पनि तीनजना घाइते भएका छन् । दुईजना असइ र एक प्रहरी जवानले वीर अस्पतालमा उपचार गराइरहेका छन् ।
प्रहरीको गोली लागेर घाइतेमध्ये कुमार घैँटे भन्ने मान्छेले समाजमा आतंक फैलाइरहेको थियो । धेरै पहिलादेखि विभिन्न आपराधिक घटनामा संलग्न भएको र कुनै पनि व्यवसाय राम्रोसँग सञ्चालन गर्न नदिने र दबाब दिएर आतंक मच्चाउने काम गर्दै आएको थियो ।
उसका गतिविधिको अनुसन्धान भइरहेको छ । उसको कारण केही मान्छे नेपालमा बस्न नसकेर दुबई गएकोसमेत जानकारी हाम्रोमा आएको छ ।
कन्स्ट्रक्सन कम्पनी पनि आफैँले लिने, बालुवाको ठेक्का पनि आफैँले लिने काम गर्दै आएको थियो । प्लटिङ, होटेल र म्यानपावरलाई पनि आतंकित गर्ने काम गर्दै आएको थियो ।
आफन्त र केही सभासद्ले योजनाबद्ध रूपमा मारिएको आरोप लगाएका छन् नि ?
सबैको अभिव्यक्ति स्वतन्त्रता छ । गुन्डाहरूको को–कोसँग कनेक्सन छ भन्ने कुरा पनि हामी अनुसन्धान गरेर बाहिर ल्याउँछौँ । कानुन हातमा लिने काम नहोस् र जनताले सुरक्षित महसुस गरून् भनेर समाज आतंकित बनाउनेहरूविरुद्ध हामी कडा रूपमा प्रस्तुत भएका हौँ । धेरैका भेस्टेड इन्ट्रेस्ट पनि होलान्, त्यसकारण कसले के भन्यो भन्ने विषयमा म टिप्पणी गर्न चाहन्नँ ।
घटनापछि तपाईंलाई कस्तो प्रतिक्रिया आएको छ ?
सबैबाट राम्रो प्रतिक्रिया आएको छ । होटेल एसोसिएसनबाट फोन आएको थियो । उसले दुःख दिएको रहेछ, धन्यवाद दिनुभयो । विदेशबाट समेत फोन गरेर खुसी व्यक्त गरेका छन् । एकजनाको कन्स्ट्रक्सन कम्पनी नै हडपेर ती व्यक्तिलाई विदेश जान बाध्य बनाएको रहेछ । सामाखुसी क्षेत्रमा पनि धेरैलाई दुःख दिएको रहेछ । उसको आतंक बन्द हुने भयो भन्दै धेरैले मलाई फोन गरेका छन् । मलाई कसैले पनि रिसाएर फोन गरेको छैन ।
राजधानीमा अरू धेरै गुन्डा नाइकेसमेत छन्, उनीहरूलाई के हुन्छ ?
हामीले सबै कनेक्सन बुझिरहेका छौँ । कतिको उजुरी आउँछन्, त्यस आधारमा हामीले कारबाही गर्ने हो । सबैको गतिविधि बुझिरहेका छौँ । अब गुन्डाराज चल्नेवाला छैन । हाम्रो लक्ष्य भनेको ‘फ्रि अफ फियर सोसाइटी’ बनाउने हो । समाजमा गुन्डाको भय शून्यमा झार्ने हाम्रो लक्ष्य छ । गुन्डाका कारण धेरैजना यहाँ पीडित हुनुहुँदो रहेछ । गोप्य रूपमा सूचना दिन म आग्रह गर्छु । गुन्डाहरूबाट कोही पनि डराउनुपर्दैन, कसैले दुस्ख दिएका छन् भने गोप्य रूपमा सूचना दिनुहोला, गोप्यता कायम राखेर हामी कारबाही गर्छौँ ।
टोले गुन्डादेखि “समाजसेवी”सम्म
सामाखुसीलाई आधार बनाएर १८ वर्षदेखि गुन्डागर्दी गर्दै आएका घैँटे राजधानीका पुराना डनमध्ये एक हुन् ।
०५५ देखि सामाखुसीका टोले गुन्डा गरेका उनले पटक–पटक ‘ग्याङफाइट’ खेलेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
डान्सबार सञ्चालन र हप्ता असुलीबाट गुन्डागर्दीमा लागेका उनले पछिल्लो समय नेताहरूसँग मिलेर ठेक्कापट्टाबाट पैसा कमाउँदै आएका थिए ।
क वर्गको निर्माण कम्पनी गजुरमुखी कन्ट्रक्सनका उनी मालिक हुन् । जसले दर्जनौँ ठूला सरकारी ठेक्काहरू हात पारेको छ ।
आफ्नो विरोधीलाई पेस्तोल देखाएर उनले धम्क्याउने काम लिने गर्दथे । कांग्रेसका प्रभावशाली नेताहरूसँग राम्रो सम्बन्ध भएकाले त्यही आडमा उनको जबर्जस्ती असुली र ठेक्कापट्टाको व्यापार मौलाउँदै गएको थियो ।
करिब एक वर्षअघि टेबुलमा करिब एक करोड रुपैयाँ राखेर आफ्नो फोटो खिची फेसबुकमा राखेका थिए । राजनीतिक संरक्षणकै कारण उनको सम्पत्ति शुद्धीकरणअन्तर्गत अनुसन्धान भएको थिएन ।
०६० को आसपासमा उनले आफूलाई सामाखुसी क्षेत्रको डनका रूपमा स्थापित गरी त्यस क्षेत्रका हरेक व्यवसायीबाट पैसा असुल्ने गरेका थिए ।
त्यसवेला प्रहरी पनि डनहरूसँग मिल्ने भएकाले स्थानीयहरू हप्ता बुझाउन बाध्य भएको स्रोतको भनाइ छ । गुन्डागर्दीमा संलग्न काभ्रेली समूहसँग उनको सुरुदेखि नै झगडा पर्दै आएको थियो ।
दुईपटक उनले ग्याङफाइट खेलेका थिए । हालका अपराध महाशाखाका एसएसपी खनाल सोही कार्यालयमा डिएसपीका रूपमा कार्यरत रहँदा खनालकै अगाडि तरबार देखाउँदै उनी भागेका थिए ।
काभ्रेली समूहका विष्णु लामामाथि एकपटक गोली प्रहार गरेका थिए, जुन गोली झुक्किएर अमित लामालाई लागेको थियो ।
०६५ पछि उनीविरुद्ध प्रहरीमा लिखित उजुरी परेको छैन । तर पनि उनले आफ्नो धन्दा नछाडेको प्रहरी अधिकारीहरू बताउँछन् । उजुरी गर्दा झन् असुरक्षित हुने डरले गुन्डाविरुद्ध प्रहरीमा कम उजुरी पर्छन् ।
तर, गुन्डागर्दीविरुद्ध प्रहरी कडा रूपमा प्रस्तुत भएपछि पछिल्लो समय मौखिक उजुरी भने बढेका थिए । पैसा कमाएपछि उनले सामाजिक संघसंस्थामा लागेर छवि सुधार्ने प्रयास गरेका थिए ।
उनी सामुदायिक प्रहरी सेवा केन्द्र सामाखुसीका अध्यक्ष थिए । त्यस्तै खेलकुद क्षेत्रमा पनि सक्रिय भए ।
स्नुकर तथा बिलियार्ड संघका अध्यक्षसमेत थिए उनी । कांग्रेसको खेलकुद समितिमा पनि उनी सक्रिय थिए ।
उनले सामाखुसी युवा क्लबको अध्यक्षका रूपमा आफूलाई समाजसेवीसमेत भन्ने गरेका थिए । तर पनि उनले आफ्नो पुरानो धन्दालाई राजनीतिक आडमा चलाइरहे र त्यही कारण प्रहरी कडा रूपमा प्रस्तुत भयो ।















प्रतिक्रिया