
काठमाडौं, ४ भदौ । प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला अनुपस्थित हुँदा संविधानका विवादित विषयमा बिहीबार पनि सहमति भएन ।
विशेष समितिको बुधबारको बैठकबाट रिसाएर निस्किएका कोइराला बिहीबार दुई चरणका बैठकमा पनि सहभागी भएनन् ।
सिंहदरबारस्थित संसद् सचिवालयमा बिहीबार बिहान १० बजेपछि विशेष समितिको बैठक बसेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
सचिवालय पुगेका कोइराला पार्टीका केही नेतासँग छुट्टै छलफल गरेर बालुवाटार लागेका थिए ।
प्रदेशको सीमा विवादको अन्तिम टुंगो लगाउने भनिएको साँझको बैठकमा पनि बिरामी भएको भन्दै उनी उपस्थित नै भएनन् ।
सिंहदरबारमा बसेको दोस्रो चरणको बैठक चलिरहँदा प्रधानमन्त्री कोइरालाले विशेष समितिका संयोजक डा बाबुराम भट्टराईलाई टेलिफोन गरेर आफू बिरामी भएकाले बैठकमा नआउने बताएका थिए ।
उनले सात प्रदेशको प्रस्ताव नमान्ने पनि बताएको बैठक स्रोतले जानकारी दियो ।
‘सात प्रदेशको प्रस्ताव मलाई थाहा छैन,’ कोइराला र डा भट्टराईको संवाद उद्धृत गर्दै स्रोतले भन्यो, ‘भेरी, कर्णाली र राप्ती अञ्चलसहितको एउटै प्रदेश बन्नुपर्छ, त्योबाहेक सहमति हुँदैन ।’
भट्टराईसँग कुरा गरेपछि उनकै फोनमा कोइरालाले पार्टीका उपसभापति रामचन्द्र पौडेलसँग पनि सात प्रदेशको प्रस्ताव नमान्न र सोहीअनुसार बैठकमा राख्न निर्देशन दिएका थिए ।















प्रतिक्रिया