२८ आश्विन २०८३, बुधबार

रसुवा बाढी उद्धारमा खटिएका निजी हेलिकप्टर कम्पनीले दावी गरे झण्डै १५ करोड

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार तथा राहतका लागि परिचालन गरिएका हेलिकप्टरको खर्चको अन्तिम हिसाब अझै टुंगिएको छैन। निजी हेलिकप्टर कम्पनीहरूले करिब १५ करोड रुपैयाँ भुक्तानी माग गरेका छन् भने नेपाली सेनाले गरेको उडानको खर्च विवरण आउन बाँकी छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निजी क्षेत्रका हेलिकप्टर कम्पनीहरूले भदौ १० देखि २६ गतेसम्म गरेको उडानबापत १४ करोड ९६ लाख २० हजार ३७४ रुपैयाँको बिल पेस गरेका छन्।

प्राधिकरणका अनुसार उक्त अवधिमा निजी हेलिकप्टरले कुल ४८२ घण्टा १७ मिनेट उडान गरेका थिए। सरकार र निजी हेलिकप्टर कम्पनीबीच भएको पूर्वसम्झौताअनुसार विपद्का बेला उद्धार तथा राहतका लागि परिचालन गरिएका हेलिकप्टरलाई प्रतिघण्टा १ हजार ८०० अमेरिकी डलरका दरले भुक्तानी गर्ने व्यवस्था छ।

यस अवधिमा निजी हेलिकप्टरबाट २ हजार ७९४ वटा उडान गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ। तर, कुन कम्पनीले कुन मितिमा कुन क्षेत्रमा कति उडान गरेको भन्ने विस्तृत विवरण भने अन्तिम भुक्तानी प्रक्रिया टुंगिएपछि मात्र सार्वजनिक हुने अधिकारीहरूले बताएका छन्।

बाढीपछि रसुवा, नुवाकोट र आसपासका प्रभावित क्षेत्रमा निजी क्षेत्रका ११ वटा हेलिकप्टर कम्पनी परिचालन भएका थिए। हेली एभरेस्ट, अल्टिच्युड एयर, माउन्टेन हेलिकप्टर्स, बेस क्याम्प हेली, प्रभु हेलिकप्टर्स, कैलाश हेलिकप्टर सर्भिसेज, एयर डाइनास्टी, फिस्टेल एयर, सिम्रिक एयर, अन्नपूर्ण हेलिकप्टर र श्री एयरलाइन्सका हेलिकप्टर उद्धार तथा राहतमा प्रयोग भएका थिए।

यी हेलिकप्टरमार्फत घाइते तथा प्रभावितको उद्धारसँगै खाद्यान्न, औषधि र अन्य राहत सामग्री दुर्गम क्षेत्रमा पुर्‍याइएको थियो। प्राधिकरणका अनुसार निजी हेलिकप्टरबाट ६ हजार ५१ जनाको उद्धार गरिएको छ भने १ लाख ५३ हजार ८०३ किलोग्राम राहत तथा उद्धार सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको थियो। १०३ वटा शव व्यवस्थापनमा पनि हेलिकप्टर प्रयोग भएको थियो।

सेनाको उडान खर्च अझै स्पष्ट छैन

निजी क्षेत्रसँगै नेपाली सेनाले पनि बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा हेलिकप्टर परिचालन गरेको थियो। सेनाले उद्धार तथा राहतबाहेक डोजर, एक्स्काभेटरलगायत भारी उपकरणसमेत हेलिकप्टरबाट प्रभावित क्षेत्रमा पुर्‍याएको थियो।

पछिल्लो विवरणअनुसार नेपाली सेनाले मात्रै २ हजार २३४ ‘सर्टिज’ अर्थात् उडान–अवतरण गरेको जनाएको छ। सेनाका अनुसार एमआई–१७ लगायत ठूला हेलिकप्टरसँगै साना अगस्टा हेलिकप्टर पनि परिचालन भएका थिए। उद्धार अभियानमा सेनाका सातवटा एयरक्राफ्ट प्रयोग गरिएको थियो।

तर सेनाले गरेको उडानको कुल समय र त्यसबापत लाग्ने खर्चको अन्तिम विवरण भने सार्वजनिक भइसकेको छैन। सेनाका प्रवक्ताका अनुसार विपद्को समयमा गरिएको उडानको खर्च रक्षा मन्त्रालयले तोकेको दरअनुसार व्यवस्थापन हुने भए पनि हालसम्म त्यसबापत भुक्तानी भएको छैन।

यही कारण अहिले हेलिकप्टर उद्धारको कुल खर्चबारे विभिन्न तथ्यांक सार्वजनिक भएका छन्। केही प्रारम्भिक आकलनमा निजी र सरकारी हेलिकप्टरको खर्च जोड्दा २५ करोड रुपैयाँभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ। सेनाको वास्तविक उडान समय र खर्च जोडिएपछि मात्र अन्तिम रकम स्पष्ट हुनेछ।

यसअघि हेलिकप्टर उद्धारमा १५ अर्ब रुपैयाँ खर्च भएको भन्ने विवरण सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरूङले त्यसको खण्डन गरेका थिए । उनका अनुसार हालसम्म प्राप्त बिलअनुसार हेलिकप्टर उद्धारमा करिब १४ करोड रुपैयाँ खर्च भएको विवरण सरकारसँग आएको छ। नेपाली सेनाको खर्च विवरण प्राप्त भएपछि मात्र वास्तविक कुल रकम यकिन हुने उनको भनाइ छ। उनले समग्र खर्च करिब १४ देखि २० करोड रुपैयाँ हाराहारीमा हुन सक्ने बताएका छन्।

यसअघि सार्वजनिक भएका विवरणमा भने निजी हेलिकप्टरको मात्रै करिब १५ करोड रुपैयाँ बराबरको बिल देखिएको छ।