
काठमाडौं, ३ भदौं । संविधानका विवादित विषयमा सहमति जुटाउन विहानैदेखि सिंहदरबारमा बसेको उच्चस्तरीय राजनीतिक विशेष समितिको बैठकमा प्रधानमन्त्री सुशील कोइराला उपस्थित नभएपछि आज पनि कुनै सहमति हुन सकेन् ।
विहीबार दिनमा दुई पटक बसेको बैठकले छलफल गरेर खाली दिनमात्रै कटायो । विशेष समितिको बैठकबाट बाहिरिँदै नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले शीर्ष नेताको बैठकमा प्रधानमन्त्री उपस्थित नहुँदा कुनै सहमति हुन नसकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो-‘आजको बैठकमा प्रधानमन्त्री ज्यू आउनु भएन्, उहाँ नआउनुको कारण भनेको राप्ती, कर्णाली र भेरी अञ्चललाई मध्यपश्चिमबाट टुक्र्याउनुहुँदैन् भन्ने हो । हिजोको बैठकमा एमाओवादीले सात प्रदेशको प्रस्ताव गरेकाले पनि उहाँ नआउनुभएको भनिएको छ ।’
स्रोतका अनुसार बुधबार बैठकमा एमाओवादीले सात प्रदेशमा जाउँ भनेपछि प्रधानमन्त्री रिसाउँदै बैठक छाडेर बालुवाटारतिर लागेका थिए । एमाओवादीको प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका वरिष्ठ नेता शेरबहादृर देउवाले समर्थन जनाए । तर, कोइरालाले मध्यपश्चिम टुक्र्निे भएपछि ‘तपाई जे-जे गर्नुहुन्छ गर्नुस्’ भन्दै बैठक छाडेर हिँडेका थिए ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा केपी र देउवाले आफ्नो क्षेत्र नटुक्रिने भएपछि समर्थन जनाएका थिए । आजको बैठकबाट बाहिरिँदै विशेष समितिका संयोजक बाबुराम भट्टराईले पनि प्रधानमन्त्री कोइराला बैठक नआएकै कारण कुनै ठोस निर्णयमा पुग्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो-‘प्रधानमन्त्री ज्यू खै के कारणले आउनुभएन्, उहाँ नआएपछि विवादित विषयमा छलफल गरेपनि निष्कर्षमा पुग्न सकेनौं ।’
बाबुरामले बैठकमा आउन कुनै समस्या भए प्रधानमन्त्रीसँग बाहिरै बसेर छलफल गर्न समेत आफूहरु तयार रहेको बताउनुभयो । ‘कांग्रेसका साथीहरुले प्रधानमन्त्रीसँग आज राति छलफल गछौं भनेका छन् । यदि प्रधानमन्त्रीज्यूले बोलाउनुभयो भने हामी छलफल तयार छौं ।’ उहाँले भन्नुभयो ।












प्रतिक्रिया