जनकपुरधाम । टिपरको ठक्करबाट जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि एक चार वर्षीया बालिकाको मृत्यु भएको छ ।
प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरको ठक्करबाट महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसी रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन् ।
सोमबार साँझ टिपरको ठक्ककरबाट गम्भीर घाइते भएकी नैनसीको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले टिपर चालक क्षिरेश्वरनाथ नगरपालिका–३ निवासी ३६ वर्षीय उमेश सिंह दनुवार र सहचालक महोत्तरीको भंगाहा नगरपालिका–९ निवासी १८ वर्षीय शम्भुकुमार यादवलाई नियन्त्रणमा लिएको छ ।
घटनापछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड समेत गरेका छन् । अवस्था तनावग्रस्त बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक केशव गौतमको कमान्डमा २५ जना र जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको कमान्डमा ५० जनाको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो ।
दुर्घटनापछि बालिकालाई तत्काल जानकी मेडिकल कलेज रमदैयामा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि साँझ ७ः५५ बजे न्युरो अस्पताल जनकपुरधाममा पठाए पनि बचाउन सकिएन ।











प्रतिक्रिया