९ कार्तिक २०८३, सोमबार

भक्तपुरका गाउँमा पहिरो, तीनगाउँ उच्च जोखिममा, खोला थुनियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pahiro– रमेश गिरी
भक्तपुर, ३ भदौ । अविरल वर्षाका कारण भक्तपुरका गाउँगाउँमा पहिरो जाँदा कैयौँ बस्ती जोखिममा परेका छन् ।

महामञ्जुश्री–नगरकोट नगरपालिका–३ ताथलीमा केही दिनदेखि गएको लगातारको पहिरोले यहाँको छुकां बस्ती उच्च जोखिममा परेको छ ।

सौडोलको अग्लो ठाउँमा रहेको छुकां टोलका चार घर उच्च जोखिममा परेका छन् भने यहाँका १० घर नजिक पहिरो पुगेको छ । स्थानीय शिवप्रसाद छुकांले पहिरोे घर आँगनसम्म आइपुगेको बताउँदै केही दिन अझै पानी पर्ने र पहिरोको रोकथाम नभए यहाँका चार घर पहिरोले बगाउने अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “पहिरो १० फिट चौडा बाटो हँुदै आँगनसम्म आइपुगेको छ, वर्षा नरोकिए चार घरसँगै नजिकका अरु १० घरलाई पनि असर पुग्छ ।”

यहाँको नारायणभक्त, विष्णुकुमार, गोमा र गोविन्द छुकांका घर पहिरोको उच्च जोखिममा परेका छन् । हरेक वर्ष पहिरो जाने भएपनि स्थानीय निकायले पहिरो रोकथाममा चासो नदिएपछि जटिल बनेको स्थानीयको भनाइ छ ।

यता ताथली–३ कै गिरी टोल जाने बाटो मै पहिरो जाँदा यहाँका नौ घर उच्च जोखिममा परेका छन् । हरेकवर्ष पहिरो जाने यस क्षेत्रमा स्थानीयले बिरुवा रोप्ने र बाँसको आड दिएर रोकथामको प्रयास गरे पनि यस वर्षको पानीले सबै बगाएको छ ।

पहिरोले यहाँका सानुभाइ गिरी, दीपक गिरी, राजेश गिरी, श्याम गिरी, मञ्जु गिरी, विष्णु खड्का, रामशरण गिरी, कुवेर गिरी र दिनेश गिरीका घर उच्च जोखिममा परेका छन् । यस बस्तीमा जाने बाटोसमेत १०० फिट तलदेखि नै गएको पहिरोले १० फिट चौडाको बाटो समेत बगाएपछि पैदल हिँड्नसमेत समस्या परेको छ ।

यहाँको पहिरोले गर्दा ५० घर रहेको बस्तीमा दमकल तथा एम्बुलेन्स जाने बाटोसमेत नभएको स्थानीय सानुभाइ गिरीले बताउनुभयो ।

त्यसैगरी, चाँगुनारायण नगरपालिका–१४ दुवाकोटस्थित खड्का डिलमा साउन महिनादेखि नै गएको लगातारको पहिरोले यहाँको खड्का बस्ती उच्च जोखिममा परेको छ ।

गत सातादेखिको पहिरोले सल्लाघारी–चाँगु सडकखण्ड भासिएको र साउन १७ गतेपछि गएको लगातारको पहिरोले यहाँको सिङ्गो बस्ती नै उच्च जोखिममा परेको स्थानीय किरण खड्काले बताउनुभयो ।

पहिरोले सडक भासिएपछि यहाँ चल्ने सवारीसाधनसमेत बन्द हुँदा स्थानीयलाई बस चढ्न तीन घन्टा पैदल हिँड्नुपर्ने भएको स्थानीय विकास थापा ‘प्रहर’ले जानकारी दिनुभयो ।

पहिरोले स्थानीय किरण खड्का, गोवद्र्धन खड्का, केशव खड्का, नकुल खड्का, भगवान खड्का, ईश्वर खड्का, आत्माराम खड्काका घर उच्च जोखिममा परेका छन् ।

यता अनन्तलिङ्गेश्वर नगरपालिका–८ मा पहिरो जाँदा ५० घरपरिवारले प्रयोग गर्दै आएको खानेपानी ट्याङ्की बगाउँदा खानेपानीको अभाव भएको छ । पहिरोले कुलो बगाउनुको साथै स्थानीय नातीकाजी थापा, चिनी थापा, शमशेरबहादुर बस्नेतको धान रोपेको चार रोपनी जग्गासमेत बगाएको छ ।

बगिरहेको खोलालाई राति पहिरोले पूर्णरुपमा थुनिदिएपछि थप समस्या आएको साविक सिरुटार गाविसका पूर्व अध्यक्ष शशीजंग थापाले जानकारी दिनुभयो ।

प्रहरीको सहयोगमा स्थानीयले खोला खोल्ने प्रयास गरेको बताउँदै उहाँले पहिरोले अन्य खेतीयोग्य जमिन बगाउने अवस्थामा पु¥याएको बताउनुभयो । जिल्लाका सिपाडोल, नङ्खेल, चित्तपोल, सुडाल, नगरकोट, छालिङलगायतका क्षेत्रमा पनि पहिरो गएको छ । रासस