रौतहट । रौतहटमा अवैध रूपमा सालको काठ ओसारपसार गरिरहेको आरोपमा एक जना पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका–७ स्थित रंगपुर साझेदारी वन क्षेत्रमा आइतबार राति संयुक्त वन गस्ती टोलीले काठसहित स्थानीय एक जनालाई नियन्त्रणमा लिएको हो ।
नयाँबस्ती कटानीदेखि उत्तरतर्फ वन क्षेत्रमा राति करिब ९ बजे गस्ती गर्ने क्रममा ती व्यक्ति सालको गोलिया काठ साइकलमार्फत ओसारपसार गरिरहेको अवस्थामा पक्राउ परेको वन कार्यालयले जनाएको छ ।
गस्ती टोलीले उनको साथबाट साल जातको ५ थान गोलिया काठ, २४.७० क्युबिक फिट, ३ थान साइकल र १ थान पिन्चा (आरा) बरामद गरेको छ ।
पक्राउ परेका व्यक्ति चन्द्रपुर–७ नयाँबस्ती कटानीका स्थानीय भए पनि वन कार्यालयले उनको नाम सार्वजनिक गरेको छैन ।
पक्राउ परेका व्यक्ति तथा बरामद काठ र अन्य सामग्रीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय रौतहटमा बुझाइएको छ ।
वन क्षेत्रमा हुने अवैध कटान तथा काठ चोरी–तस्करी नियन्त्रणका लागि रातिको समयमा समेत गस्ती र निगरानीलाई तीव्रता दिइएको वन कार्यालयले जनाएको छ ।
अभियानमा डिभिजन वन कार्यालय रौतहट, चन्द्रपुर सव–डिभिजन वन कार्यालय, रंगपुर साझेदारी वन, सशस्त्र प्रहरी बेस सन्तपुर तथा प्रहरी चौकी बनबहुअरी र सन्तपुरका सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।











प्रतिक्रिया