काठमाडौं । लगातारको वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङको थोचे गाउँका बासिन्दा विस्थापित भएका छन् ।
बाढीको उच्च जोखिम बढेपछि ज्यान जोगाउन गाउँ छाडेका तीन दर्जनभन्दा बढी स्थानीय अहिले ओडार गाउँमा पुगेर उद्धारको पर्खाइमा बसेका हुन् ।
मर्स्याङ्दी नदीमा पानीको बहाव निरन्तर बढेपछि थोचे आसपासका बस्तीमा जोखिम बढेको थियो । बाढीको जोखिमका कारण स्थानीयहरू सुरक्षित स्थानको खोजीमा गाउँबाट बाहिरिएका हुन् । घरबास छाडेर ओडार गाउँ पुगेका उनीहरू अहिले उद्धारको पर्खाइमा छन् ।

स्थानीयका आफन्तहरूले भने बाढीका कारण जोखिममा परेका नागरिकको तत्काल उद्धार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिहरेका छन् । उनीहरूका अनुसार ओडार गाउँमा रहेका आफन्तसँग अहिले सम्पर्क समेत हुन सकेको छैन् ।
चामेमा आएको बाढी थोचे आउने हुँदा उनीहरुमा त्रास फैलिएको थियो । त्यसपछि उनीहरु ज्यान जोगाउन कोही ओडार गाउँमा, कोही अन्यत्र गएर बसेको बताइएको छ ।
उद्धारमा गएन सरकारको ध्यान
बाढी प्रभावितका आफन्तहरूले सरकारले समयमै उद्धारका लागि प्रभावकारी कदम चाल्न नसकेको गुनासो गरेका छन् । उनीहरूले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको अवस्थाबारे तत्काल जानकारी लिएर उद्धारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायबीच समन्वय गरी प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली परिचालन गर्नुपर्ने माग आफन्तहरूले गरेका छन् ।
उद्धारको प्रतीक्षामा रहेका स्थानीयको अवस्था यकिन गर्न र उनीहरूसँग सम्पर्क स्थापित गर्न समेत पहल आवश्यक देखिएको छ । जोखिममा रहेका नागरिकको उद्धारमा ढिलाइ हुँदा उनीहरूका परिवार तथा आफन्तमा थप चिन्ता बढेको छ ।
यसअघि आइतबार पनि मर्स्याङ्दी नदीमा आएको उच्च बहावका कारण मनाङको ताल गाउँ डुबानमा परेको थियो । लगातारको वर्षासँगै नदीको जलस्तर बढेपछि ताल गाउँ प्रभावित भएको हो ।











प्रतिक्रिया