२८ आश्विन २०८३, बुधबार

१० दिनपछि सुरुङबाट उद्वार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका कविर महर्जन उपचारपछि घर फर्किएका छन्। स्वास्थ्यमा सुधार आएपछि उनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको हो।

आयोजनामा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत महर्जन गत भदौ १० गते आएको बाढीपछि सुरुङभित्र फसेका थिए। लामो खोज तथा उद्धार प्रयासपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनलाई जीवितै बाहिर निकालेको थियो।

उद्धारपछि अस्पताल भर्ना गरिएका महर्जनको स्वास्थ्य अवस्थामाथि चिकित्सकहरूले नियमित निगरानी गरेका थिए। लामो समयसम्म सुरुङभित्र रहँदा परेको शारीरिक तथा मानसिक दबाबका बाबजुद उनको अवस्थामा क्रमशः सुधार आएको थियो।

अस्पतालबाट बाहिरिएपछि महर्जनलाई ललितपुरस्थित निवासतर्फ लैजाँदा बाटोमा स्थानीयले फूलमाला लगाएर स्वागत गरेका थिए। उनको स्वास्थ्य लाभको कामना गर्दै स्थानीयले खुसी व्यक्त गरेका थिए।

घर फर्किने क्रममा महर्जनले कठिन अवस्थामा आफूलाई जीवितै बाहिर निकाल्ने उद्धार टोली तथा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीप्रति धन्यवाद व्यक्त गरेका छन्।