रौतहट । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत इन्जिनियर गजेन्द्र जैसवालमाथि ठेकेदारहरूको एक समूहले कुटपिट गरेको आरोप लागेको छ ।
बुधबार साँझ भारतीय दूतावासको उत्तरतर्फ मुख्य सडकमा रहेको हरि राईको चिया पसलअगाडि ४–५ जनाको समूहले जैसवालमाथि कुटपिट गरेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार कुटपिटपछि जैसवाल रातो मोटरसाइकलमा घटनास्थलबाट निस्किएका थिए ।
इन्जिनियर जैसवाल र केही ठेकेदारबीच लामो समयदेखि निर्माण तथा योजनासम्बन्धी कामलाई लिएर विवाद रहँदै आएको स्रोतको दाबी छ । ठेकेदार पक्षले जैसवालमाथि कमिसन माग्ने तथा कमिसन नदिए काममा असहयोग गर्ने आरोप लगाउँदै आएको बताइएको छ ।
यस्तै, कार्यालयमा समेत आफूहरूलाई अनावश्यक रूपमा दुःख दिने गरेको आरोप ठेकेदार पक्षले लगाउँदै आएको स्रोतले जनाएको छ । यही विवादका क्रममा बुधबार साँझ कुटपिट भएको बताइएको छ ।
घटनाबारे सम्बन्धित पक्षबाट भने औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन । कुटपिटको कारण तथा घटनामा संलग्न व्यक्तिहरूबारे प्रहरीले अनुसन्धान अघि बढाएको बताइएको छ ।











प्रतिक्रिया