रौतहट । गत आर्थिक वर्षको वित्तीय हिसाब मिलान हुन नसक्दा रौतहटका १२ स्थानीय तहको खाता सञ्चालन र चालु आर्थिक वर्षको पहिलो किस्ता निकासा प्रभावित भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)का अनुसार स्रोतगत खर्चको विवरण नमिलेको, खर्च हुन नसकेको रकम फिर्ता नभएको तथा पुरानो वित्तीय विवरण मिलान बाँकी रहेकाले निकासा प्रक्रिया रोकिएको हो ।
जिल्लाका १८ स्थानीय तहमध्ये गौर, देवाही गोनाही, कटहरिया, बौधिमाई, गुजरा र वृन्दावनको हिसाब मिलान भइसकेको जनाइएको छ ।
खाता सञ्चालनमा समस्या आएपछि कर्मचारीको तलब, निर्माण व्यवसायी तथा सेवा प्रदायकको भुक्तानीसमेत प्रभावित हुन सक्ने अवस्था छ । दसैँतिहारको मुखमा देखिएको यो समस्याले स्थानीय तहको नियमित सेवा प्रवाहमा समेत असर पार्ने चिन्ता बढाएको छ ।
यसबीच गढीमाई नगरपालिकामा करिब चार करोड र गरुडा नगरपालिकामा करिब छ करोड रुपैयाँ सशर्त अनुदान खर्च नभई बाँकी रहेको स्रोतको दाबी छ । खर्च नभएको सशर्त अनुदान फिर्ता गर्नुपर्ने व्यवस्था भए पनि उक्त रकमको वास्तविक अवस्था र व्यवस्थापनबारे सम्बन्धित पालिकाबाट स्पष्ट विवरण सार्वजनिक भएको छैन ।
गरुडाका लेखापाल कुमार ठाकुरको सरुवाको विषय पनि यही समयमा चर्चामा आएको छ । तर सरुवा र वित्तीय हिसाबबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भइसकेको छैन । अब सम्बन्धित पालिकाले प्राप्त अनुदान, भएको खर्च, बाँकी रकम र फिर्ता गरिएको रकमको स्रोतगत विवरण सार्वजनिक गरेपछि मात्रै वित्तीय विवादको वास्तविक अवस्था स्पष्ट हुने देखिन्छ ।











प्रतिक्रिया