काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटका क्रममा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण दिएको छ ।
आइतबार वनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगदीश खरेलले उक्त भेट भारतीय वित्तमन्त्री सीतारमणको कार्यकक्षमा भएकाले त्यहाँ नेपाली झण्डा नदेखिएको बताएका हुन् ।
खरेलका अनुसार सार्वजनिक भएको तस्वीर सीतारमणको कार्यकक्षमा भएको भेटको हो । उनले दुई देशका प्रतिनिधिबीच औपचारिक द्विपक्षीय भेट हुँदा भने दुवै देशका राष्ट्रिय झण्डा राखिने स्पष्ट पारे ।
‘हाम्रो सभापतिको कार्यकक्षमा राष्ट्रिय झण्डा राखिएको हुन्छ । अर्थमन्त्रीको कार्यकक्षमा पनि त्यही देशको राष्ट्रिय झण्डा हुन्छ,’ खरेलले भने, ‘भारतीय वित्तमन्त्रीको कार्यकक्षमा भएको भेटको तस्वीर भएकाले त्यहाँ भारतीय झण्डा मात्रै देखिएको हो । दुईपक्षीय भेटमा नेपालको झण्डा पनि सँगै राखिएको छ ।’
उनले तस्वीरका आधारमा मात्रै नेपाली झण्डा नराखिएको भन्ने निष्कर्ष निकाल्नु उपयुक्त नहुने समेत बताए ।











प्रतिक्रिया