काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत भदौ ७ गते एक लाख रुपैयाँको पुरस्कारका लागि छनोट भएको कारोबार योग्य नभएपछि उक्त उपहार रद्द हुने भएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार लक्की ड्रमा कुपन नम्बर ०४२ ६१८ ४७७ ६२० परेको थियो । तर, उक्त कुपनमार्फत भएको कारोबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको रकम भुक्तानीसँग सम्बन्धित रहेको पाइएको हो ।
विभागका सूचना प्रविधि निर्देशक थानेश्वर पनेरुका अनुसार क्यूआरमार्फत भएको उक्त कारोबारमा गलत मर्चेन्ट क्याटगोरी कोड ९एमसीसी० प्रयोग भएकाले प्रणालीले त्यसलाई करदाता प्रोत्साहन उपहारका लागि योग्य कारोबारका रूपमा पहिचान गरेको थियो ।
‘क्यूआर भुक्तानीमा कारोबार भएको संस्था वा प्रतिष्ठान पहिचान गर्न एमसीसी प्रयोग हुन्छ । भदौ ७ को ड्रमा परेको कारोबारको कोड गलत आएको रहेछ,’ पनेरुले बताए ।
उनका अनुसार उक्त कारोबार वास्तविक रूपमा भदौ ७ मै भएको भए पनि कोडका कारण उपहारका लागि योग्य नभएको कारोबार छनोट हुन पुगेको हो । विभागले भविष्यमा यस्तो समस्या दोहोरिन नदिन प्रणाली सुधार गर्न निर्देशनसमेत दिएको छ ।
सरकारले उपभोक्तालाई बिल तथा विद्युतीय भुक्तानीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले प्रत्येक १५ दिनमा योग्य कारोबारलाई कुपनमा समावेश गरी लक्की ड्रमार्फत उपहार घोषणा गर्दै आएको छ ।
भदौ १० गते भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा त्तच् मार्फत सहयोग गर्ने अभियान व्यापक बनेको थियो । यद्यपि, भदौ ७ मा भएको भनिएको उक्त कारोबार सोही अभियानअघिको हो वा कारोबारको मिति तथा कोडसम्बन्धी अन्य प्राविधिक कारणले प्रणालीमा समावेश भएको हो भन्ने विषयमा थप स्पष्ट विवरण सार्वजनिक भएको छैन ।
विभागले रद्द भएको उपहारबापतको एक लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ । उपहार जिते पनि दाबी नगर्ने वा आवश्यक प्रमाण पूरा गर्न नसक्ने विजेताको रकम पनि सोही कोषमा जम्मा गर्ने व्यवस्था रहेको विभागले जनाएको छ ।











प्रतिक्रिया