काठमाडौं । बाढी, पहिरो तथा सडक कटानका कारण देशका विभिन्न जिल्लाका राजमार्ग तथा प्रमुख सडकखण्डमा सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ ।
लगातारको वर्षा र विपद्का कारण केही सडक पूर्ण रूपमा ठप्प भएका छन् भने केही सडकखण्डमा जोखिम न्यूनीकरणका लागि निश्चित समय तोकेर मात्र सवारी सञ्चालन गर्न दिइएको छ ।
यसैबीच, धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा त्रिशूली नदीको कटानका कारण भासिएको सडक मर्मतपछि आज बिहान ६ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । सडक सुचारु भएसँगै रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन् ।
यसैगरी, रसुवा जोड्ने पासाङ ल्हामु राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध बनेको छ । त्रिशूली नदीको कटान र बाढीले सडकको अधिकांश भाग नष्ट गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडक तथा त्रिशूली–बेत्रावती हुँदै रसुवागढी नाका जोड्ने मुख्य राजमार्ग ठप्प भएको हो ।
प्रहरीका अनुसार हाल काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार हुँदै स्याफ्रुबेँसी पुग्ने वैकल्पिक ‘सिंगल लेन’ कच्ची सडक प्रयोग गरी यातायात सञ्चालन भइरहेको छ ।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा भने निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधनका लागि बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्मको समय निर्धारण गरिएको छ । १० टनसम्मका मालबाहक तथा ढुवानीका साधनलाई भने बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन हुन दिने व्यवस्था मिलाइएको छ ।
यसैगरी, नुवाकोटको टोखा–छहरे सडकखण्डमा वर्षाका कारण जोखिम बढेपछि अर्को सूचना जारी नभएसम्मका लागि राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा तुइनखोला परियोजनाको माटो कटान कार्य चलिरहेकाले हरेक दुई घण्टा सडक बन्द गरी ३० मिनेट खुलाउने तालिका अनुसार सवारी साधन सञ्चालन गराइएको छ ।
यस्तै, हुम्लाको सर्केगाड गाउँपालिका–४ मिलनचोकस्थित कर्णाली करिडोर र मनाङको नासो गाउँपालिका–३ खोत्रोस्थित चामे–बेँसीसहर सडकखण्डमा पनि माथिबाट पहिरो खसेका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया