२८ आश्विन २०८३, बुधबार

मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल : एमाले

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बुधबार जारी गरेको प्रेस नोटमा जनतालाई राहत दिनुको सट्टा सरकार आफ्नो असफलता र कमजोरी ढाकछोप गर्न विषयान्तरको राजनीति गरिरहेको उल्लेख छ ।

आचार्यले दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा व्यवस्थापन र कालोबजारी नियन्त्रणमा सरकार असफल भएको दाबी गरे ।

उनले भनेका छन्, ‘नेपालीहरूका सांस्कृतिक चाडपर्वहरू नजिकिँदै गर्दा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भइरहेको छ ।’

ग्यासको सहज आपूर्ति र व्यवस्थापन गर्न नसकेर सरकारले जनतालाई सास्ती दिइरहेको आरोप लगाउँदै आचार्यले एमालेविरुद्ध दुष्प्रचार गरिएको बताए । उनका अनुसार ललितपुरका एक पौडेल थरका व्यापारीलाई एमाले केन्द्रीय सदस्यको ‘कृतिम परिचय’ दिँदै ग्यास लुकाएको आरोप लगाएर पार्टीलाई बदनाम गर्ने प्रयास भएको छ ।

उनले सरकार संरक्षित राजनीतिक दलका कार्यकर्ताले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने, साइबर बुलिङ गर्ने तथा सामाजिक सद्भाव भड्काउने गतिविधि गरेको आरोप समेत लगाएका छन् ।

आचार्यले सरकारको असफलता र जनताको समस्याबाट ध्यान मोड्न यस्ता गतिविधि भइरहेको दाबी गर्दै त्यसको भर्त्सना गरेका छन् । उनले भ्रम र दुष्प्रचारको राजनीति लामो समय नचल्ने उल्लेख गर्दै सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री तथा त्यसमा संलग्न व्यक्तिको विवरण प्रमाणसहित सार्वजनिक गर्दै जाने चेतावनी दिएका छन् ।

‘जनतालाई भ्रमित पार्ने होइन, आफ्ना कमजोरीको जवाफ दिने साहस गर’ आचार्यले भनेका छन् ।