२८ आश्विन २०८३, बुधबार

सरकारलाई काँग्रेसको प्रश्न– डीजीको कन्चटमै पेस्तोल राखेर थर्काएको हो ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई दबाब दिएर रेडकर्नर नोटिस जारी गर्न लगाइएको भन्ने सत्तापक्षीय सांसदकै अभिव्यक्तिबारे सरकारसँग स्पष्टीकरण मागेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद चन्द्रमोहन यादवले महानिर्देशकलाई राति पेस्तोल देखाएर रेडकर्नर नोटिस जारी गर्न बाध्य पारिएको भन्ने आरोप गम्भीर रहेको भन्दै सरकारको धारणा मागेका हुन्।

यसअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पनि प्रतिनिधिसभामै राति १ बजे सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई पेस्तोल देखाएर केही घण्टाभित्र रेडकर्नर नोटिस जारी गर्न दबाब दिइएको दाबी गरेका थिए।

त्यही अभिव्यक्तिलाई आधार बनाउँदै कांग्रेस सांसद यादवले राज्यका निकायका प्रमुखलाई हतियार देखाएर काम गराउन खोजिएको हो भने त्यसबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए।

उनले भने, ‘म सत्तारुढ दलका माननीयज्यूहरुले सार्वजनिक रुपमा दिएको वक्तव्यबारे ध्यानाकर्षण गराउन चाहन्छु। कतै कन्चटमै पेस्तोल राखेर थर्काएको कुरा आएको छ। कतै प्रश्न गर्दा धम्की आएको कुरा पनि सुन्नमा आएको छ। यो अत्यन्तै अलोकतान्त्रिक कुरा हो। यसमा सरकारको के जवाफ छ ? हामी सुन्न चाहन्छौँ। लोकतन्त्रको मूल्य नै भयरहित समाजको निर्माण भएको हुनाले यो विषय अत्यन्त गम्भीर छ।’

उनले संसदमा प्रश्न उठाउने सांसदलाई धम्की दिने तथा सत्तापक्षबाटै डरत्रास सिर्जना हुने खालका अभिव्यक्ति आउनु लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर विषय भएको बताए।

यादवले लोकतन्त्रको आधार नै नागरिक र जनप्रतिनिधिले निर्भय भएर आफ्ना कुरा राख्न पाउने वातावरण भएकाले महानिर्देशकलाई पेस्तोल देखाइएको भनिएको घटनाबारे सरकारले सदनलाई प्रस्ट पार्नुपर्ने माग गरे।