काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धमा अर्को एउटा नयाँ उपलब्धि थपिएको छ ।
नेपाल र ‘फेडरेटेड स्टेट्स अफ माइक्रोनेसिया’बीच आज औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसङ्घका लागि फेडरेटेड स्टेट्स अफ माइक्रोनेसियाका स्थायी प्रतिनिधि राजदूत जिम एस. लिप्वेले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रमपछि भएको सौहार्दपूर्ण द्विपक्षीय भेटघाटका क्रममा दुवै देशका राजदूतहरूले आपसी हितका विविध विषयमा विचार-विमर्श गरेका थिए । सो अवसरमा उनीहरूले संयुक्त राष्ट्रसङ्घलगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने संयुक्त प्रतिबद्धता समेत दोहोर्याएका छन् ।
माइक्रोनेसियासँग सम्बन्ध कायम भएसँगै नेपालको द्विपक्षीय कूटनीतिक सम्बन्ध विस्तार भएका देशहरूको संख्या १८५ पुगेको छ ।
नेपाल सरकारले फेडरेटेड स्टेट्स अफ माइक्रोनेसियासँगको मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउनुका साथै संयुक्त राष्ट्रसङ्घ तथा अन्य बहुपक्षीय मञ्चहरूमा दुवै देशका साझा प्राथमिकताहरूलाई संयुक्त रूपमा अघि बढाउन तत्पर रहेको जनाएको छ ।
याे कस्ताे देश हाे ?
फेडेरेटेड स्टेट्स अफ माइक्रोनेसिया वा छोटकरीमा माइक्रोनेसिया, ओसिनिया क्षेत्रको ‘माइक्रोनेसिया’ इलाकामा अवस्थित एक टापु राष्ट्र हो ।

यस सङ्घीय राष्ट्रले क्यारोलिन टापु समूह (पलाउ बाहेक)को अधिकांश भाग ओगटेको छ । यसमा पश्चिमदेखि पूर्वतर्फ क्रमशः याप, चुक, पोनपेई र कोस्रे गरी चारवटा राज्यहरू रहेका छन् । यी राज्यहरू भूमध्यरेखाको ठीक उत्तरमा, पश्चिमी प्रशान्त महासागरमा करिब २,७०० किलोमिटर अर्थात १,७०० माइलको दूरीसम्म फैलिएका छन् । यी चार राज्यहरूमा कुल ६०७ वटा टापुहरू पर्छन्, जसको कुल भू-भाग क्षेत्रफल करिब ७०२ वर्ग किलोमिटर अर्थात २७१ वर्ग माइल रहेकाे छ ।
यो सम्पूर्ण टापु-सङ्घ उत्तरी प्रशान्त महासागरमा अवस्थित छ, इन्डोनेसिया र पपुवा न्युगिनीको उत्तर-पूर्व, गुआम र मारियानासको दक्षिण, नाउरु र मार्सल टापुहरूको पश्चिम, पलाउ र फिलिपिन्सको पूर्व रहेकाे छ ।
यस देशको कुल जमिनको क्षेत्रफल तुलनात्मक रूपमा सानो भए तापनि यसको जलक्षेत्रले प्रशान्त महासागरको करिब ३० लाख वर्ग किलोमिटर (१२ लाख वर्ग माइल) भाग ओगटेको छ । यसका कारण यो देश विश्वको १४ औँ ठूलो ‘विशेष आर्थिक क्षेत्र’ भएको राष्ट्र बनेको छ । यस देशको राजधानी पोनपेई टापुमा रहेको ‘पालिकिर’ हो भने सबैभन्दा ठूलो सहर चुक लागुन मा अवस्थित टापु-नगरपालिका ‘वेनो’ हो ।
माइक्रोनेसियालीहरूका पुर्खाहरू चार हजार वर्षभन्दा बढी समयअघि यहाँ बसोबास गर्न थालेका थिए । सुरुमा सरदारहरूको नेतृत्वमा रहेको विकेन्द्रीकृत प्रणाली कालान्तरमा याप टापुलाई केन्द्रबिन्दु बनाएर विकसित भएको थप केन्द्रीकृत आर्थिक तथा धार्मिक संस्कृतिमा परिणत भयो ।
नहरहरूको सञ्जालद्वारा जोडिएका साना कृत्रिम टापुहरूको समूह रहेको ‘नान माडोल’, जुन युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश छ, ई प्रायः ‘प्रशान्त क्षेत्रको भेनिस’ भनेर चिनिन्छ । पोनपेई टापुको पूर्वी किनारामा अवस्थित यो स्थल ‘साउडेलेउर’राजवंशको औपचारिक तथा राजनीतिक केन्द्र थियो । यस राजवंशले करिब ई.सं. ५०० देखि १५०० सम्म पोनपेईका अनुमानित २५,००० मानिसहरूलाई एकीकृत गरेको थियो ।
फेडेरेटेड स्टेट्स अफ माइक्रोनेसिया एक संघीय, स्वतन्त्र. राष्ट्रपतीय गणतन्त्र हो जुन दलीय राजनीतिभन्दा माथि रहेको लोकतान्त्रिक प्रणालीमा सञ्चालित छ अर्थात् यहाँ कुनै औपचारिक राजनीतिक दलहरू छैनन् । वेस्ली डब्लु सिमिना फेडरेटेड स्टेट्स अफ माइक्रोनेसियाका वर्तमान राष्ट्रपति तथा सरकार प्रमुख छन्, उनले ११ मे २०२३ मा पदभार ग्रहण गरिरहेका छन् ।











प्रतिक्रिया