२१ कार्तिक २०८३, शनिबार

उपेन्द्र, अमरेश र राजेन्द्र महतोलाई कारवाही गर्न मधेसकै सांसदहरुको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-ameresh-rajendraकाठमाडौं, २ भदौं । व्यवस्थापिका-संसद्को आजको बैठकको विशेष समयमा सांसदहरुले विभिन्न जातजातिलाई भड्काएर संविधान निर्माण प्रक्रिया अवरुद्ध गर्न खोज्ने नेताहरुलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग गरेका छन् ।

विशेषगरी मधेसबाट निर्वाचित सांसदहरुले विखण्डनकारी अभिव्यक्ति दिएर नेपाली नेपालीबीच लडाउन वातावरण सिर्जना नेतालाई कारवाही गर्न माग गरेका हुन् । उनीहरुले केही दिन अगाडि कैलालीमा भएको भाषण प्रकरणलाई उठाउँदै देशविरुद्ध बोल्ने जो सुकैलाई पनि छाड्न नहुने बताएका हुन् ।

सांसद सत्यनारायण मण्डलले मुलुकको सामाजिक सद्भाव भड्काउने काम भइरहेकामा आपत्ति प्रकट गर्दै त्यस्तो गतिविधि नगर्न र त्यस्तो गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरे ।

सांसद सुरेन्द्रप्रसाद जैसवालले संविधान निर्माणका क्रममा राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता विरुद्ध अभिव्यक्ति दिएर अवरोधको वातावरण सिर्जना गर्नेमाथि कानुनी कारबाही गर्न माग गरे ।

सांसद मिलनकुमारी राजवंशीले इतिहासदेखि मिलेर बसेका नेपालीको सामाजिक सद्भाव भड्काउने काम भइरहेकोमा आपत्ति प्रकट गर्दै त्यस्ता नेतालाई कारवाही गर्न माग गरिन् ।

सांसद विश्वेन्द्र पासवानले आदिवासी, जनजाति, मधेसी, दलित समुदायले आफ्नो हक अधिकार प्राप्तिका सन्दर्भमा भइरहेको आन्दोलनमा आन्दोलनकारी पक्ष र सरकार दुवै संयमित हुनुपर्ने र परिस्थितिलाई भड्काउन नहुने बताए ।

केही दिन अगाडि कैलालीमा आयोजित एक सभामा संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका सभासद् अमरेश कुमार सिंह र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले विखण्डनकारी अभिव्यक्ति दिएपछि अहिले सर्वत्र विरोध भइरहेको छ ।

तीनै नेताको भाषण टेपमाथि संसदको राज्य व्यवस्था समितिले छानविन प्रक्रिया अगाडि बढाएको छ ।