काठमाडौं, २ भदौ । ग्रामीण समुदायको आर्थिक सामाजिक उत्थानमा काम गरिरहेको फरवार्ड (फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था) ले प्रधानमन्त्री राहत कोषमा १० लाख राहत रकम सहयोग गरेको छ ।
अध्यक्ष भगवती चौधरी लगायत संस्थाका प्रतिनिधिहरु प्रधानमन्त्री निवास बालुवाटार पुगि आज प्रधानमन्त्री शुशिल कोइरालालाई १० लाख रकमको चेक हस्तान्तरण गरिएको हो ।
बैशाख १२ गते गएको बिनाशकारी भूकम्प पछिको बिपत्तिमा सहयोग गर्नका लागि फरवार्डले सो रकम हस्तान्तरण गरेको पूर्व वनराज्यमन्त्री, पूर्व सभासद एवम् एमाले केन्द्रीय सदस्य समेत रहेकी अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
उहाँले प्रधानमन्त्री राहत कोषलाई गरेको सहयोग फरवार्डले विगतका दिनमा समेत गर्दै आएको समाज सेवी गतिबिधिहरुको निरन्तरता भएको बताउनु भयो ।
‘भूकम्प पछि हामीले धेरै राहत र सहयोगका कामहरु गरेका छौं’ उहाँले भन्नुभयो ‘भूकम्पका कारण अझै धेरै पीडितहरु रहेको हामीले बुझेका छौं, राज्यबाट नै यस्मा सहयोग होस भन्नका लागि प्रधानमन्त्री राहत कोषमा राहत रकम बुझाएका हौं ।’
रकम बुझ्दै प्रधानमन्त्री कोईरालाले भूकम्प पीडितहरुका लागि संकलित रकमको उचित सदुपयोग हुने आश्वासन दिँदै सहयोगी हातहरुलाई धन्यबाद दिनुभयो ।
फरवार्डले यसअघि पनि भूकम्प प्रभावित क्षेत्रहरुमा राहत वितरण लगायतका बिभिन्न कामहरु गर्दै आएको छ । फरवार्डले धादिङ, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, सुनसरी लगायतका क्षेत्रहरुमा सहयोग गरेको हो । सो क्रममा ११ सय ५० थान त्रिपाल, २ सय ५० बोरा चामल, २५ बोरा चिउरा पीडित परिबारहरुलाई सहयोग गरिएको फरवार्डले जनाएको छ ।
‘भुकम्प प्रभाबित सबै क्षेत्रहरुमा हामीले सहयोग पुर्याएका छौं’ चौधरीले भन्नुभयो ‘अहिले सम्म करिब ३० लाख बराबरको सहयोग हामीले गरेका छौं ।’
















प्रतिक्रिया