सुर्खेत । कर्णाली प्रदेशको चर्चित पर्यटकीय स्थल काँक्रेविहार जाने सडकखण्ड निर्माण पूरा नहुँदै कालोपत्रे उप्किएको छ ।
वीरेन्द्रनगर–९ मा रहेको मंगलगढी काँक्रेविहार सडकखण्डको २४ सय मिटर सडक खण्डको कालोपत्रे उप्किदा स्थानीयलाई सास्ती भएको छ भने निर्माण कम्पनीले बारम्बार म्याद थप्दा पनि निर्माण कार्य सम्पन्न गर्न सकेको छैन ।
अमर सिस्ने नेपाल मेघा जेभिले पूर्वाधार विकास कार्यालय सुर्खेतसँग २०७८ मंसिर २४ गते निर्माण कार्यकालागि सम्झौता गरेको थियो । १४ करोड १५ लाख ८१ हजारमा निर्माण पूरा गर्ने उदेश्यका साथ सडक निर्माण थालेको निर्माण कम्पनीले हालसम्म पनि निर्माण पूरा गर्न नसकेको हो ।
२०८० असार १५ मा निर्माण सम्पन्न गर्नुपर्नेमा निर्माण कम्पनीले त्यो अवधिमा निर्माण सम्पन्न गरेन । त्यसपछि निर्माण कम्पनीलको पहिलोपटक म्याद थप भयो । निर्माण कम्पनीले २०८० फागुन १५ मा निर्माण सम्पन्न गर्नुपर्नेमा त्यो अवधिमा पनि सडक निर्माण कार्य सम्पन्न हुन सकेन । उक्त अवधिमा निर्माण सम्पन्न नभएपछि कार्यालयले पेश्की वापतको रकम जफत गरेको थियो ।
दोस्रोपटक २०८१ असार १२ गतेसम्मका लागि पुनः म्याद थप भयो । तेस्रोपटक २०८२ पुस १२ गतेसम्म म्याद थप्दा पनि निर्माण कम्पनीले सडक निर्माण पूरा गर्न नसकेको हो ।
‘करिब ९० प्रतिशत काम सम्पन्न भएको छ ।’ कार्यालयका इन्जिनियर प्रेमचन्द पाण्डेले भने, ‘१२ करोड ४७ लाख ३७ हजार रुपैंया निर्माण कम्पनीले भुक्तानी लिइसकेको छ ।’ तर, अबको केही दिनमा उक्त सडक निर्माण पूरा गर्न अन्तिम पटकका लागि म्याद थप गर्नेगरी निर्माण कम्पनीले कार्यालयमा कागजात पेश गरेको छ ।
‘सार्वजनिक खरिद ऐन २०६४ को नियम १२०, उपनियम २ बमोजिम हाल म्याद थप गर्ने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘कल्भर्टको दायाँबाँया सडक कालोपत्रे गर्नुपर्ने, जेव्राक्रसिंग राख्नुपर्नेदेखि भत्केको सडक निर्माण गर्न बाँकी छ । त्यो कार्य सम्पन्न नभएको खण्डमा हामी भुक्तानी दिन सक्दैनौँ ।’
उनले निर्माण कम्पनीलाई सडक निर्माणका लागि बारम्बार ताकेता गरिएको बताउँदै म्याद थप पश्चात काम सम्पन्न हुने अपेक्षा कार्यालयको रहेको उनको भनाई छ ।











प्रतिक्रिया