२८ आश्विन २०८३, बुधबार

मातातीर्थमा दर्शनार्थीकोे घुइँचो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mata-tirtha

काठमाडौँ। मातातीर्थ औँसीका अवसरमा मंगलबार काठमाडौँ पश्चिम भेगस्थित मातातीर्थमा बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाको स्मृतिमा विशेष मेला लाग्ने प्राचीन परम्पराअनुरुप दर्शनार्थीको घुइँचो लागेको हो ।

मातातीर्थ कुण्डमा स्नान गरेपछि सन्तानले आफ्नो दिवंगत आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । उक्त कुण्डमा पवित्र मनका साथ हेर्दा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने जनविश्वास रहेको छ ।

त्यहाँ गएर दिवंगत आमाको सम्झना गरे छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने र आफ्नी आमालाई पनि मुक्त गराउन सक्ने धार्मिक मान्यता छ ।

स्वस्थानी व्रत कथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । त्यसकारण पनि यस ठाउँमा आएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख सन्तोष पाउने विश्वास रहिआएको छ ।

किंवदन्तीअनुसार प्राचीनकालमा उक्त स्थानमा घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालोको मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ । उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने बेलामा गोठालोले एक्लै फर्कन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई ‘हामी मृत आमाहरूको दर्शन गर्न सधैँ वैशाख औँसीको दिन यो तीर्थमा आउनू’ भन्ने वाचाका साथ छोरालाई सम्झाइबुझाई फर्काइदिइन् । त्यसै समयदेखि नै यो तीर्थको नाम मातातीर्थ रहन गएको हो ।

काठमाडौँको रत्नपार्कबाट कलङ्की, गुर्जुधारा हुँदै मातातीर्थमा सार्वजनिक यातायात सेवा पनि नियमित चल्ने भएकाले आज उक्त क्षेत्रका सार्वजनिक यातायातका साधनहरूमा भीड लाग्नुका साथै निजी सवारीसाधनको चापसमेत देखिएको छ ।