
करनाल, २ भदौ । भारतको हरियाणा राज्यको करनालमा एक महिला पुलिस कान्सेटबलले उच्च प्रहरी अधिकारीहरूको यौनजन्य कार्यमा साथ नदिएको आरोपमा आफूलाई यातना पाएपछि आत्महत्याको प्रयास गरेकी छिन् ।
अनिता रानी नाम गरेकी ती पुलिस कन्सेटबलले एसपीसमेत केही अफिसरहरूको यातना सहन नसकेको जनाएकी छिन् । एसपीसहितका उच्च अधिकारीले यौनजन्यकार्यमा दिएको दवाव आफूले नमानेपछ अनितालाई यातना दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हस्पिटलमा उपचारका लागि भर्ना भएकी अनिताले आफ्नो बयानमा भनेकी छिन्, ‘एसपी राजकुमारले मेरो जिन्दगी बरबाद बनाइ दिए । उनलाई कुनै हालतमा कारबाही गरिनुपर्छ । यत्तिकै छाड्नु हुँदैन ।’
थ्रो बल की राष्ट्रिय विजेता खेलाडी अनिता रानी सन् २००९ मा स्पोट्र्स कोटाबाट पुलिसमा भर्ना भएकी थिइन् ।
प्रहरी उच्च अधिकारीहरूले दिएको यौनजन्यकार्य गर्न नमानेपछि आफूले पाएको यातनाबाट छुटकारा पाउन बिहीबार अनिताले फिनाइल खाएकी थिइन् । उनले फिनाइल पिउनुभन्दा पहिला सुसाइड नोट लेख्नुका साथै साथीहरूलाई आफूले आत्महत्या गर्नुको कारणसहितको म्यासेज मोबाइलमा पठाएकी थिइन् ।
अनिताले आफ्नो बयानमा एक एसपी, एक हेड क्लर्क र एएसआई रीडरविरुद्ध आरोप लगाएकी छिन् । अनिताको आरोपमा भनिएको छ, ‘प्रहरीमा कार्यरत युवतीहरूले उच्च प्रहरी अधिकारीहरूको घरमा र डेरामा गएर उनीहरूको इच्छा पूरा नगर्ने तथा भनेको नमान्नेहरूलाई मानसिक सजाय दिने गरिएको छ । उच्च अधिकारीहरूका नाजायज दवाव मान्न म तयार छैन ।’
‘म राष्ट्रिय लेवलमा गोल्ड र सिल्वर मेडल जितेकी खेलाडी हुँ । मेरो करिअर र जिन्दगी बर्बाद गर्ने काम भइरहेको छ । एसपी, हेड क्लर्क, एएसआई रीडरले मलाई फोनमा बारम्बार गाली गर्छन् । मेरो इज्जतमाथि पनि नानाभाँती भन्ने गर्छन्’, अनिताले प्रहरी समक्ष दिएको बयानमा उल्लेख छ ।
अनिताले उच्च प्रहरी अधिकारीहरूलाई लगाएको आरोपमा अरु दुई प्रहरी महिलाहरूले पनि समर्थन गरेका छन् ।
















प्रतिक्रिया