न्यूयोर्क । नेपालका साथै विभिन्न मुलुकहरूमा शूटिङ गरिएको सगरमाथासम्बन्धी तथ्य र आधारलाई कथा बनाइ निर्माण गरिएको हलिउड फिल्म ‘एभरेष्ट’को रिलिजको मिति सार्वजनिक भएको छ ।
फिल्म आगामी सेप्टेम्बरमा रिलिज हुनेछ । यूनिभर्सल पिक्चर्सले निर्माण गरेको ‘एभरेष्ट’लाई १८ सेप्टेम्बरमा रिलिज गरिनेछ ।
हलिउड फिल्म ‘एभरेष्ट’लाई विश्वभर एक साथ प्रदर्शन गरिने तयारी छ । ‘एभरेष्ट’लाई नेपालका साथै भारतमा पनि सोही दिन रिलिज गरिने जनाइएको छ ।
यो फिल्म सन् १९९६ मा सगरमाथा आरोहणका क्रममा भएको दुर्घटनालाई कथामा समेटिएको छ । फिल्म सत्य कथामा आधारित छ ।
बाल्तसार करमरकुरले निर्देशन गरेको ‘एभरेष्ट’लाई ‘थ्री डी’मा निर्माण गरिएको हो । फिल्ममा जेसन क्लार्क, जोश ब्रोलिन, जान हाक्स, रोबिन राइट, माइकल केली, सैम वर्थिङ्गटन, केरा नाइटली, एमिली वाटसन र जेक गिलेनहालको मुख्य भूमिका छ ।
‘एभरेष्ट’लाई भारतमा हिन्दी, अंग्रेजी, तमिल र तेलगू भाषा डबिङ् गरेर प्रदर्शन गरिनेछ । तर नेपाल कै सगरमाथाको विषयमा बनाइएको फिल्म ‘एभरेष्ट’लाई भने नेपाली भाषामा हेर्न र सुन्न पाइने छैन ।
फिल्मको कथा सगरमाथामा चढ्ने क्रममा भएका अविश्वसनीय विषयहरू समेटिएका छन् । दुई जनाको नेतृत्वमा सगरमाथा चढ्ने क्रममा आएको हिमआँधी र पहिरोको दृश्यपनि समेटिएका छन् ।
प्राकृतिक बाधालाई छिचोलेर सगरमाथा चढेको कथालाई फिल्ममा रोचक तरिकाले प्रस्तुत गरिएको छ ।
फिल्मको शूटिङ नेपालका साथै रोम र ब्रिटेनमा गरिएको थियो । ‘एभरेष्ट’ फिल्ममा दुई समूहले सगरमाथा चढाइका क्रममा आएका चुनौतिलाई स्काट फिशर (गिलेनहाल) र राब हाल (क्लार्क)ले नेतृत्व गरेको कथामा देखाइएको छ ।















प्रतिक्रिया