रौतहट । भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले मंगलबार अखिल विश्व गायत्री परिवारको मुख्यालय शान्तिकुञ्ज पुगेर मंगल आरती तथा यज्ञीय कार्यक्रममा सहभागिता जनाएका छन् ।
शान्तिकुञ्ज पुगेका मुख्यमन्त्री धामीलाई देव संस्कृति विश्वविद्यालयका उपाध्यक्ष तथा अखिल विश्व गायत्री परिवारका युवा प्रतिनिधि ड. चिन्मय पण्ड्याले पुष्पगुच्छा प्रदान गरी स्वागत गरेका थिए । त्यसपछि मुख्यमन्त्री धामीले देव संस्कृति विश्वविद्यालय परिसरमा आयोजित यज्ञीय कार्यक्रममा सहभागी हुँदै भगवान महाकाल र माता गायत्रीसँग उत्तराखण्डको सुख, शान्ति, समृद्धि तथा सर्वाङ्गीण विकासको कामना गर्दै प्रार्थना गरे ।
कार्यक्रमका क्रममा मुख्यमन्त्री धामीले शान्तिकुञ्जकी अधिष्ठात्री श्रद्धेय शैलदिदीसँग आत्मीय भेट गरेका थिए । उनले शैलदिदीबाट आशीर्वाद तथा मार्गदर्शन समेत लिए । सो अवसरमा शैलदिदीले युगऋषि पण्डित श्रीराम शर्मा आचार्यद्वारा रचित वाङ्मय लगायतका साहित्यिक सामग्री मुख्यमन्त्री धामीलाई प्रदान गर्दै सम्मान गरेकी थिइन् ।
भेटका क्रममा प्रदेश तथा समाजको कल्याण, आध्यात्मिक जागरण र सकारात्मक सामाजिक परिवर्तनका लागि अखिल विश्व गायत्री परिवारले सञ्चालन गरिरहेका विभिन्न अभियानबारे छलफल भएको थियो । समाजमा संस्कार, सेवा, सद्भाव तथा नैतिक मूल्यलाई बलियो बनाउने र युवालाई रचनात्मक दिशातर्फ अग्रसर गराउने अभियानबारे पनि कुराकानी भएको जनाइएको छ ।
यज्ञीय वातावरणमा वैदिक मन्त्र उच्चारण भइरहेका बेला मुख्यमन्त्री धामीले लोकमंगल तथा जनकल्याणको कामना गरेका थिए । सो अवसरमा डा. चिन्मय पण्ड्याले भारतीय संस्कृतिको लोकमंगलकारी परम्पराले व्यक्ति, समाजदेखि राष्ट्रसम्मको कल्याणको भावना बलियो बनाउने बताए । आध्यात्मिक चेतना, सेवा र संस्कारमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा शान्तिकुञ्जका व्यवस्थापक योगेन्द्र गिरि, महिला मण्डलकी अध्यक्ष शैफाली पण्ड्यासहित जिल्ला प्रशासनका विभिन्न अधिकारी तथा अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया