२८ आश्विन २०८३, बुधबार

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको आगजनी र विध्वंसका घटनामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म आफ्नो आवाज नरोकिने बताएका छन् ।

घटनाको एक वर्ष पूरा भएको अवसरमा आफ्ना घरमा लुटपाट र आगजनी भइरहेको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै बस्नेतले पीडितले न्याय र क्षतिपूर्ति नपाएको तथा दोषीमाथि कारबाही नभएको बताएका हुन् ।

गत वर्ष भदौ २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचनामा आगजनी भएको उल्लेख गर्दै बस्नेतले सरकारी कार्यालय, निजी उद्योग–व्यवसाय तथा ४ सयभन्दा बढी नागरिकका घरसम्पत्तिमा क्षति पुर्‍याइएको बताए ।

‘गत वर्ष आजकै दिन सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचना जलाइए । सरकारी कार्यालय, निजी उद्योग व्यवसाय र मेरो लगायत ४ सय भन्दा बढी नागरिकका घर सम्पत्ति खरानी बनाइए’ उनले लेखेका छन् ।

घटना भएको एक वर्ष बितिसक्दा पनि पीडितले न्याय र क्षतिपूर्ति नपाएको तथा घटनामा संलग्नमाथि कारबाही हुन नसकेको बस्नेतको भनाइ छ ।

‘एक वर्ष बित्यो । पीडितले न्याय पाएनन्, क्षतिपूर्ति पाएनन् । अपराधीमाथि कारबाही भएन । यो घटनाका दोषीलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु’ उनले भने ।

बस्नेतले भदौ २४ को घटनापछि बनेको सत्ताप्रति पनि असन्तुष्टि व्यक्त गरे । ‘त्यही अराजकताको जगमा बनेको बालेन सत्ताले देशलाई थप अन्योल र बर्बादीतर्फ धकेल्यो’ उनले आरोप लगाएका छन् ।

भदौ २४ लाई इतिहासको ‘कालो दिन’का रूपमा स्मरण गर्दै उनले घटनामा संलग्न व्यक्ति वा शक्ति जुनसुकै आवरणमा भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

‘अपराधी जुनसुकै शक्ति र आवरणमा भए पनि कानुनी कठघरामा नउभ्याएसम्म आवाज रोकिने छैन’ उनले भने ।

राष्ट्रमाथि भएको अपराधमा संलग्नलाई उन्मुक्ति दिन नहुनेमा जोड दिँदै बस्नेतले न्याय र जवाफदेहिताको माग गरेका छन् । न्याय चाहिन्छ, जवाफदेहिता चाहिन्छ । राष्ट्रमाथिको अपराधमा उन्मुक्ति स्वीकार्य नभएकाे उनको भनाई छ ।