२८ आश्विन २०८३, बुधबार

सामाजिक सञ्जालमा अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज । नेकपा (एमाले) बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा अपमानजनक अभिव्यक्तिमाथि निगरानी गर्दै ‘स्क्रिनसट’सहित बुलेटिन प्रकाशन गर्ने भएको छ।

एमाले बाँकेकी उपसमिति एवं प्रचार विभाग प्रमुख निर्मला सुनारले सामाजिक सञ्जालमा हुने चरित्रहत्या, अशिष्ट तथा अमर्यादित अभिव्यक्ति र घृणा–द्वेषपूर्ण गतिविधिको स्क्रिनसट संकलन गरी अध्ययन तथा अनुसन्धानपछि तथ्यका आधारमा बुलेटिन प्रकाशन गरिने जानकारी दिए ।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा राजनीतिक असहमति र आलोचनालाई गालीगलौज तथा व्यक्तिगत आक्रमणमा परिणत गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेता–कार्यकर्ताबाट राजनीतिक विरोधी तथा आलोचकलाई लक्षित गरी अशिष्ट र अपमानजनक अभिव्यक्ति आउने गरेको भन्दै एमालेले आपत्ति जनाएको छ।
एमालेले आलोचना लोकतन्त्रको आवश्यक पक्ष भए पनि आमाको नाम जोडेर गाली गर्ने, चरित्रमाथि प्रश्न उठाउने, अश्लील शब्द प्रयोग गर्ने तथा व्यक्तिगत अपमानमा उत्रिने कार्य राजनीतिक संस्कार नभएको जनाएको हो।

पार्टीले सामाजिक सञ्जालमा हुने चरित्रहत्या, घृणा तथा द्वेषपूर्ण अभिव्यक्तिले समाजमा असहिष्णुता र राजनीतिक ध्रुवीकरण बढाउन सक्ने भन्दै सबै राजनीतिक दलका नेता–कार्यकर्ता तथा आम नागरिकलाई मर्यादित ढङ्गले सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरेको छ। ‘विचारसँग लडौँ, व्यक्तिसँग होइनस तर्कले जवाफ दिऔँ, गालीले होइन’ भन्दै एमाले बाँकेले राजनीतिक विरोधीलाई गाली गरेर आफ्नो विचार बलियो नहुने जनाएको छ।

बुलेटिन प्रकाशनका लागि एमाले बाँकेले सात सदस्यीय समिति गठन गरेको छ। समितिको संयोजकमा निर्मला सुनार तथा सदस्यमा खेमराज शर्मा, मिनबहादुर मल्ल, कौशिला कठायत, माया गौतम, अनिता पौडेल र सकिल खाँ रहेका छन्।

समितिले संकलन गरेको सामग्रीका आधारमा तयार हुने बुलेटिन सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइनेछ। सम्बन्धित व्यक्ति सम्पर्कमा नआए घरपरिवारमार्फत जानकारी गराउने र घरपरिवारसमेत सम्पर्कमा नआए सम्बन्धित रास्वपाका नेता तथा पार्टी कार्यालयलाई उपलब्ध गराउने निर्णय गरिएको एमाले बाँकेले जनाएको छ।

पार्टीले भने यो अभियानको उद्देश्य कसैलाई व्यक्तिगत रूपमा अपमानित वा प्रताडित गर्नु नभई सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्टता, चरित्रहत्या, घृणा तथा द्वेषपूर्ण अभिव्यक्तिविरुद्ध सभ्य, जिम्मेवार र मर्यादित राजनीतिक संस्कार निर्माण गर्नु रहेको स्पष्ट पारेको छ।

यसैबीच, एमाले बाँकेले भदौ १० गते रसुवामा आएको बाढी तथा पहिरोपछि उद्धार, शव व्यवस्थापन र राहत वितरणमा सरकार गम्भीर रूपमा चुकेको आरोप लगाएको छ।

सरकारको अहंकार, दम्भ र अल्पज्ञान तथा घटनाको गम्भीरतालाई सही ढङ्गले बुझ्न नसक्दा ठूलो मानवीय क्षति भएको दाबी गर्दै बैठकले सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ।

एमालेले लोकतन्त्रमा जनताले सरकार र राजनीतिक दलसँग प्रश्न गर्न तथा जवाफदेहिता खोज्न पाउने भन्दै त्यस्ता प्रश्नको जवाफ गाली, धम्की वा व्यक्तिगत आक्रमणबाट नभई तथ्य, तर्क र जिम्मेवार राजनीतिक व्यवहारबाट दिनुपर्नेमा जोड दिएको हो।