२८ आश्विन २०८३, बुधबार

‘ग्रीन आर्मी’ गठनबारे सरकारसँग एमाले प्रचार विभाग प्रमुख आचार्यको जवाफ माग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का प्रचार विभाग प्रमुख निरज आचार्यले ‘ग्रीन आर्मी’ नामको संरचना गठन र सञ्चालनबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।

आचार्यले नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको र नेपालको संविधान तथा कानुनले राष्ट्रिय सुरक्षा एवं सैन्य संरचनाको स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै नेपाली सेना नै नेपालको एक मात्र संवैधानिक सैनिक संगठन भएको बताए ।

उनले ‘ग्रीन आर्मी’ कसले, कुन उद्देश्यले गठन र दर्ता गरेको हो भन्ने प्रश्न उठाउँदै यसको नाम, संरचना र सैन्य स्वरूपलाई कुन कानुनी आधारमा वैधता दिइएको हो भन्ने विषयमा राज्यले स्पष्ट र सार्वजनिक जवाफ दिनुपर्ने बताए ।

आचार्यका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाहेकका समानान्तर सुरक्षा वा सैन्य संरचनालाई नेपालको संविधान र कानुनले मान्यता दिएको छैन । संविधान र कानुनले नचिनेका सैन्य स्वरूपका संरचना भए तत्काल खारेज गर्नुपर्ने उनको भनाइ छ ।

कुनै पनि बहानामा धार्मिक, साम्प्रदायिक वा अन्य कुनै नाममा सेना वा अर्धसैनिक संरचना निर्माण गरेर मुलुकलाई द्वन्द्व तथा गृहयुद्धतर्फ धकेल्ने प्रयास स्वीकार्य नहुने आचार्यले बताए । उनले राज्यको सुरक्षा संरचनामाथि समानान्तर शक्ति खडा गर्ने छुट कसैलाई नभएको भन्दै यस्तो संवेदनशील विषयलाई सामान्य घटनाका रूपमा लिएर पन्छाउन नहुने बताए ।

सरकारले यस विषयमा गम्भीरतापूर्वक छानबिन गरी तथ्य सार्वजनिक गर्नुपर्ने र संविधान तथा कानुनविपरीत देखिने कुनै पनि संरचना तत्काल नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अघि बढाउनुपर्ने आचार्यको माग छ ।

राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भावमाथि हुने कुनै पनि षड्यन्त्र स्वीकार्य नहुने उनले बताएका छन् ।