काठमाडौं । नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा हवाई र जमिनी माध्यमबाट खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ। भदौ १६ गते साँझ ५ बजेसम्म सेनाले एक विदेशी नागरिकसहित ११८ जनाको हवाई उद्धार गरेको जनाएको हो।
सेनाका अनुसार चिलिमे हाइड्रोपावर आयोजनाको टनेलमा विदेशी नागरिकसहित २६ जनाको संयुक्त उद्धार टोली प्रवेश गरेको थियो। टोली करिब १५० मिटर भित्र पुगेपछि टनेलको भिरालो भागबाट पूर्ण रूपमा पुरिएको अवस्था भेटिएपछि थप अघि बढ्न नसकेको जनाएको छ।
त्यस्तै, अपर त्रिशूली–१ को हाँकूस्थित टनेलमा विदेशी नागरिकसहितको संयुक्त टोली करिब १६० मिटरभित्र पुगेको थियो। तर टनेल टालिएको अवस्थामा भेटिएपछि थप खोजी प्रभावित भएको सेनाले जनाएको छ।
त्रिशूली–३ ए आयोजनामा टनेल हेड पहिचान गरी तीन वटा एक्स्काभेटरबाट माटो हटाउने काम भइरहेको छ। कम्प्रेसर र रक ब्रेकर प्रयोग गरी इनलेटतर्फ बनाइएको होलबाट अत्यधिक पानी आएपछि त्यहाँबाट प्रवेश गर्न कठिन देखिएपछि आउटलेटतर्फबाट पुनः होल बनाउने काम जारी रहेको सेनाले जनाएको छ।
त्रिशूली–३ बी आयोजनाको कार्यालय तथा कर्मचारी आवास क्षेत्रसमेत पहिचान गरिएको छ। उक्त स्थानसम्म पुग्ने पहुँचमार्ग निर्माणका लागि एक्स्काभेटर परिचालन गरिएको छ।
यसैबीच, प्रभावित क्षेत्रका नागरिकको आवतजावत सहज बनाउन त्रिशूली नदीका विभिन्न पाँच स्थानमा तुइन निर्माण गर्ने योजनाअन्तर्गत नुवाकोटको विदुर नगरपालिका–९, इन्द्रायणी घाटमा करिब २५० मिटर लामो तुइन जडान गरिएको छ। तुइन सञ्चालनमा आएपछि प्रभावित क्षेत्रका नागरिकलाई बजार तथा अस्पतालसम्म पुग्न सहज भएको सेनाले जनाएको छ।















प्रतिक्रिया