सुरुङ्गा (झापा), १ भदौ । दक्षिणी झापाको राजगढबाट प्रहरीले आज बिहान नेपालमा प्रतिबन्धित लागुऔषध चरेस र गाँजा किन्दा किन्दै आठ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई राजगढ–८ निवासी कुमारसिंह राजवंशीका घरमा चरेस र गाँजा किन्दै गर्दा प्रहरीको टोलीले पक्राउ गरेको हो । राजगढ र चकचकीमा लामो समयदेखि लागुऔषधको कारोबार हुने गरेको विशेष सूचनाका आधारमा छापा मारी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
चौवन्न वर्षीय राजवंशी, सोही ठाउँ निवासी खेलवती राजवंशीसहित आठ जनालाई डेढ किलो चरेस र १५ किलो गाँजासहित पक्राउ गरे पनि अरूको नाम भने सार्वजनिक गरिएको छैन ।
लागुऔषध ओसारपसारमा संलग्न राजवंशीसहित अन्य केही व्यक्ति फरार रहेकाले उनीहरुको खोजी भइरहेको छ । अभियुक्त सबैलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको छ । रासस















प्रतिक्रिया