काठमाडौं । नेकपा (एमाले)ले भोटेकोशी र त्रिशूली लगायतको नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका कार्यलाई तीव्रता दिन १ करोड २० लाख रुपैयाँ सहयोग परिचालन गर्ने भएको छ ।
एमालेले बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टी सचिव महेश बस्नेतको नेतृत्वमा ४० सदस्यीय राहत सहयोग समिति गठन गरेको हो ।
‘विपद्को यस घडीमा प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका कार्यलाई तीव्रता दिन नेकपा (एमाले)ले १ करोड २० लाख (एक करोड बीस लाख रुपैयाँ) सहयोग गर्ने निर्णय गरेको छ ।’ पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री संकलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनर्स्थापनाका लागि पार्टीका सचिव महेश बस्नेतको संयोजकत्वमा बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति गठन गरिएको छ ।’
विपद्मा परेका नागरिकको जीवनरक्षा र राहतलाई पहिलो प्राथमिकतामा राख्दै आजैदेखि नै एमालेको केन्द्रीय उद्धार र राहत टोली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा खट्ने बताइएको छ ।
अध्यक्ष ओलीले विपद्को यस कठिन घडीमा पार्टी पंक्ति, जनसंगठन, जनप्रतिनिधि, नागरिक समाज तथा सहयोगी सबैलाई उद्धार र राहत अभियानमा एकजुट भएर सहभागी हुन आह्वान गरेका छन् ।
















प्रतिक्रिया